काठमाडौँ । उद्योग विभागले आर्थिक वर्ष २०८२/०८३ का लागि औद्योगिक कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरिच पैठारी गर्न इच्छुक उद्योगहरूका लागि आवेदन आह्वान गरेको छ।
यसका लागि उद्योगहरूले आवेदन पेश गर्दा नेपाल राजपत्रको खण्ड ७५, संख्या ५७, मिति २०८२/०९/२८ मा प्रकाशित सूचनामा आधारित कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ।
पैठारी गरिएका कच्चा पदार्थहरू उद्योगको औद्योगिक प्रयोजनका लागि मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। उद्योग विभागले आवेदनको आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस गर्नेछ। साथै, उद्योगहरूले आफ्नो स्वीकृत क्षमता र उद्देश्यअनुसार मात्र कच्चा पदार्थ माग गर्न पाउनेछन्।
आवेदन दिने क्रममा उद्योगहरूले आफ्नो नाम, ठेगाना, दर्ता नम्बर, उद्योगको वर्गीकरण र सञ्चालन अवस्था लगायतको विवरण दिनुपर्नेछ। साथै, वार्षिक स्वीकृत उत्पादन क्षमता, आवश्यक पर्ने कच्चा पदार्थको परिमाण, गत वर्षको खरिद र खपत तथ्याङ्क, बिक्री विवरण तथा चालु आर्थिक वर्षको उत्पादन लक्ष्य प्रस्तुत गर्नुपर्नेछ।
निवेदनका साथमा उद्योगले उद्योग तथा कम्पनी दर्ताको अद्यावधिक प्रमाण पत्र, भ्याट/प्यान दर्ता र कर चुक्ता प्रमाण पत्र, लेखापरीक्षण प्रतिवेदन, उद्योगको स्वीकृत वार्षिक क्षमता र सञ्चालन अवस्था खुल्ने स्वघोषणा, निकासी पैठारी सङ्केत नम्बरको प्रतिलिपि, अघिल्लो वर्ष पैठारी गरेको भए सोको परिमाण र भन्सार प्रज्ञापन पत्र र सुपारीको हकमा अन्तःशुल्क दाखिला विवरण समेत संलग्न गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्