पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र पहाड–हिमालमा हल्का वर्षा–हिमपातको सम्भावना


काठमाडाैँ । देशभर आगामी २४ घण्टासम्म पश्चिमी वायुको आंशिक प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना कायमै रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ।

मौसमविद्हरूका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुँदा पहाडी तथा हिमाली क्षेत्रमा बदली र हल्का वर्षा–हिमपातको अवस्था देखिन सक्नेछ भने तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण जनजीवन तथा यातायात प्रभावित हुन सक्ने सम्भावना छ।