इरानको अस्थिरताका विषयमा ट्रम्पद्वारा सबै विकल्प खुला रहेको घोषणा


काठमाडाैँ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अस्थिरतालाई जवाफ दिनका लागि सबै विकल्पहरू खुला राखेका छन् ।

द न्युयोर्क टाइम्सले एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार ट्रम्पसँग कुराकानी गर्दै अमेरिकालाई इरानमाथि तत्काल कुनैपनि सैन्य आक्रमण नगर्न आग्रह गरेका थिए।

यद्यपि ट्रम्पले केही दिनदेखि यस्तो आक्रमणको सम्भावनाबारे गम्भीरतापूर्वक विचार गरिरहनुभएको बताइएको छ । अर्कोतर्फ, अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकी सेनाले मध्यपूर्वका केही आधार शिविरहरूबाट सेना फिर्ता गर्दैछ भने सोही क्षेत्रमा थप सैन्य सुदृढीकरण (रिइन्फोर्समेन्ट) पनि पठाइरहेको छ ।

अमेरिकी वित्त मन्त्रालय (डिर्पाटमेन्ट अफ ट्रेजरी) ले इरानसँग कथित रूपमा सम्बन्धित २० भन्दा बढी व्यक्ति र संस्थाहरूमाथि प्रतिवन्धको घोषणा गरेको छ । इरानका विभिन्न सहरहरूमा डिसेम्बरको अन्त्यदेखि प्रदर्शनहरू भइरहेका छन् ।

इरानी अधिकारीहरूले आर्थिक गुनासाहरू सम्बोधन गर्न तयार रहेको बताए पनि हिंसा, तोडफोड र अस्थिरताविरुद्ध चेतावनी दिएका छन् । सुरूमा शान्तिपूर्ण रहेका यी प्रदर्शनहरू क्रमशः हिंसात्मक बन्दै गएका छन्, जसका कारण जनधनको क्षति हुनुका साथै मस्जिद, सरकारी भवन र बैंकहरूमा नोक्सानी पुगेको छ । इरानी अधिकारीहरूले यस अस्थिरताका पछाडि अमेरिका र इजरायलको हस्तक्षेप रहेको आरोप लगाएका छन् ।