निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष आइतबार सर्वोच्च जाने


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने निर्णय गरेका छन्।

निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई दिएपछि देउवा पक्षधर नेताहरू अदालत जाने तयारीमा जुटेका हुन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको देउवा पक्षका नेताहरूको बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक, कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता डा. प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णय एकपक्षीय, अन्यायपूर्ण र दूषित मनसायबाट प्रेरित भएको दाबी गरे । उनका अनुसार आयोगले देउवा पक्षको भनाइ नै नसुनी निर्णय गरेको छ, जुन प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ।

डा. महतले विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र उपस्थित संख्यालगायतका पक्षहरू आयोगले नहेरी निर्णय गरेको आरोप लगाए । उनले यस्तो निर्णयले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली काँग्रेसलाई गम्भीर क्षति पुर्‍याउने स्पष्ट मनसाय देखिएको बताए। कांग्रेसको विधान र निर्वाचनसम्बन्धी कानुनलाई बेवास्ता गर्दै आयोगले निर्णय गरेको उनको भनाइ छ।

बैठकले निर्वाचन आयोगको निर्णय लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने षड्यन्त्रको अंश भएको निष्कर्ष निकाल्दै त्यसको कडा विरोध गर्ने निर्णय गरेको छ। डा. महतले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिने जानकारी दिए र अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे । उनका अनुसार सर्वोच्च अदालत नै अब आफूहरूको अन्तिम सुनुवाइको थलो हो।

देउवा पक्षधर नेताहरूले नेपाली काँग्रेसको वैधानिकता १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफूहरूसँगै रहेको दाबी पनि गरेका छन्। निर्वाचन आयोगको निर्णयलाई अदालतले सच्याउने विश्वास उनीहरूले व्यक्त गरेका छन्।