पर्याप्त ऊर्जा बिना विकास सम्भव छैनः उपराष्ट्रपति यादव


काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त ऊर्जा बिना विकास सम्भव नरहेको बताएका छन्। २६ औं इप्पान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऊर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको बताए।

उनले ऊर्जा क्षेत्रलाई सबल बनाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे । पर्याप्त र सस्तो ऊर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा तिब्र विकास सम्भव रहेको उनकाे भनाइ छ ।

उनले पर्याप्त र सस्तो ऊर्जाले रोजगारी सिर्जना, आर्थिक समृद्धि, सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउने बताए ।

ग्रामिण तथा दुर्गम क्षेत्रमा ऊर्जा विस्तार गर्नु भनेको सामाजिक न्याय, समान अवसर सुनिश्चित गर्नु रहेको उनले उल्लेख गरे । उपराष्ट्रपति यादवले नेपालले नविकरणीय ऊर्जामा लगानी बढाएर क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भुमिका खेल्नसक्ने र भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरुलाई ऊर्जा निर्यात गरेर नेपालले आर्थिक लाभ मात्र नभइ कुटनीतिक सम्बन्ध पनि सफल बनाउने दाबी गरे । 

उपराष्ट्रपति यादवले निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा सहभागी गराएर राष्ट्रिय विकासलाई गतिशिल बनाउन आवश्यक रहेको बताए । नेपाल जलविद्युत तथा नविकरणीय ऊर्जामा धनी देश भएको उल्लेख गर्दै यसको सदुपयोग गरी ऊर्जा आयातमा निर्भरता घटाउनुपर्ने बताए ।