काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त ऊर्जा बिना मुलुकको विकास सम्भव नहुने स्पष्ट पारेका छन् ।
२६औँ इप्पान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले ऊर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएका हुन् । ऊर्जा क्षेत्रलाई सबल बनाउनु सरकार मात्र नभई सम्पूर्ण सरोकारवालाको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
उपराष्ट्रपति यादवले पर्याप्त र सस्तो ऊर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरूमा तीव्र विकास सम्भव हुने उल्लेख गरे। यस्तो ऊर्जाले रोजगारी सिर्जना, आर्थिक समृद्धि सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउने उनले बताए ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा ऊर्जा विस्तार गर्नु सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने आधार भएको उल्लेख गर्दै उनले ऊर्जा पहुँच विस्तारले जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने भन्दै उपराष्ट्रपति यादवले भारत, बंगलादेशलगायत छिमेकी मुलुकहरूमा ऊर्जा निर्यात गर्न सकिने सम्भावना औँल्याए। यसबाट आर्थिक लाभ मात्र नभई कूटनीतिक सम्बन्ध समेत मजबुत हुने उनको दाबी थियो।
कार्यक्रममा उनले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाउने, वातावरणीय सन्तुलन कायम राख्ने र जलवायु परिवर्तनका चुनौती सामना गर्न सहयोग पुग्ने पनि बताए । साथै ऊर्जा उत्पादनमा निजी क्षेत्रको सहभागिता बढाएर राष्ट्रिय विकासलाई थप गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी देश भएकाले यसको प्रभावकारी सदुपयोग गर्दै ऊर्जा आयातमा निर्भरता घटाउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड थियो।


प्रतिक्रिया दिनुहोस्