स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले दिए राजीनामा


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रममा भुक्तानी संकट चुलिँदै गएका बेला काफ्लेको राजीनामा आएको हो । बोर्डले सेवा प्रदायक अस्पताललाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । भुक्तानी नपाएपछि ठूला सरकारी अस्पतालले बिमा सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् भने केही बन्दको तयारीमा छन् ।

यता, अर्थ मन्त्रालयले यही मोडलमा कार्यक्रम सञ्चालन भए थप अनुदान दिन नसकिने स्पष्ट पारेको छ । सरकारको आवश्यक सहयोग नपाउँदा स्वास्थ्य बिमा कार्यक्रम नै संकटमा परेको छ ।