काठमाडौँ । रोल्पा, थवाङका साहसी पर्वतारोही हरि बुढाले विश्वका सात सर्वोच्च शिखर (सेभेन समिट) आरोहण पूरा गरी ‘असम्भव केही छैन’ भन्ने सन्देश दिन सिधै नेपाल फर्किएको बताएका छन्। गत शुक्रबार पत्रकारहरूसँगको भेटघाटमा उनले आफ्नो यात्रा र अपाङ्गता सचेतना अभियानको जानकारी दिएका हुन्।
बुढा २०१० मा अफ्गानिस्तानमा खटिएका बेला लडाइँका क्रममा विष्फोटमा परी घुँडाभन्दा माथि दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक हुन्। उनले सगरमाथा, माउन्ट किलिमाञ्चारो, डेनाली, अर्कोकागुवा, कास्र्टेन्स पिरामिड (पुनचक जया) लगायतका शिखर आरोहण गरिसकेका छन्। आज उनी ‘डबल एम्प्युटी’ पर्वतारोहीको विश्व रेकर्ड राख्ने पहिलो नेपाली बनेका छन्।
भेटघाटमा उनले भने, “यदि हामीसँग सपना छ, आफूलाई समर्पित गर्छौं र कहिल्यै हार मान्दैनौँ भने, जीवनले जस्तोसुकै चुनौती दिए पनि हामी जे पनि हासिल गर्न सक्छौँ। मैले मेरो अनुभवमार्फत् अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो क्षमतामा विश्वास गर्न र समुदाय, संस्था तथा सरकारलाई सही सहयोगको आवश्यकता बुझाउन चाहन्छु।”
उनको अभियानमा गाइड मिङ्मा शेर्पा र अफिसियल फोटो पत्रकार अबिरल राईसहित उपस्थित थिए। बुढाका अनुसार यस यात्रामा अत्यधिक चिसो, तीव्र हावाहुरी, भिरालो पहाड र हिउँका पर्खालहरू पार गर्नु परेको थियो।
हरि बुढा यस अभियानमार्फत् अपाङ्गता सचेतना फैलाउन र अन्य व्यक्तिहरूलाई आफ्ना सपनाका पहाडहरू चढ्न प्रेरित गर्न विश्वभर संदेश दिन चाहन्छन्। नेपाल फर्केपछि उनी अपाङ्गता सचेतनाको क्षेत्रमा अझ सक्रिय हुने तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस्