आर्थिक पत्रकार मिलन विश्वकर्मा इप्पान जर्नो अवार्डबाट सम्मानित


काठमाडौं ।आर्थिक पत्रकार मिलन विश्वकर्मा ‘इप्पान जर्नो अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पहिलो संस्करणको ‘इप्पान जर्नो अवार्ड–२०२६’ बाट नयाँ पत्रिकामा कार्यरत विश्वकर्मालाई सम्मान गरेको हो ।

ऊर्जा क्षेत्रमा निरन्तर र गुणस्तरीय रिपोर्टिङ गर्ने एक पुरुष र एक महिला पत्रकारलाई सम्मान गर्ने उद्देश्यसहित इप्पानले यस वर्षदेखि ‘इप्पान जर्नो अवार्ड’ वितरण सुरु गरेको छ ।

त्यसमा यस बर्ष खुला प्रतिस्पर्धाबाट पुरुषतर्फ विश्वकर्मालाई सम्मान गरिएको हो । लामो समयदेखि ऊर्जा क्षेत्रमा कलम चलाउँदै आएका विश्वकर्मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का कोषाध्यक्ष समेत हुन् ।

यस्तै, महिलातर्फ कान्तिपुर दैनिकमा कार्यरत सीमा तामाङलाई पुरस्कार प्रदान गरिएकोछ । तामाङ पनि लामो समयदेखि ऊर्जा क्षेत्रमा कलम चलाउँदै आएकी छिन् ।

आइतबार काठमाडौंमा आयोजित २६औँ इप्पान डे कार्यक्रमका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले संयुक्त रूपमा नगद ५१ हजार–५१ हजार रुपैयाँसहितको अवार्ड प्रदान गरेका हुन्।

इप्पानले ऊर्जा क्षेत्रका विषयलाई सार्वजनिक बहसमा ल्याउन र खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्न यो अवार्ड स्थापना गरिएको जनाएको छ ।