स्याङ्जामा काँग्रेसको पुस्तान्तरण सङ्केत, दुई अनुभवी नेता चुनावी प्रतिस्पर्धाबाट बाहिर


काठमाडाैँ । नेपाली काँग्रेस स्याङ्जाको राजनीतिमा पुस्तान्तरणको सङ्केत देखिएको छ। पार्टीभित्र उम्मेदवार चयनको चर्को बहस चलिरहेका बेला जिल्लाका दुई अनुभवी तथा प्रभावशाली नेताले आगामी आम निर्वाचनबाट अलग रहने निर्णय गरेका छन्।

जिल्ला सभापति तथा निवर्तमान सांसद राजु थापा र पूर्वमन्त्री मेखलाल श्रेष्ठले फागुन २१ गते हुने आम निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन्। लामो समयदेखि काँग्रेसको राजनीतिमा सक्रिय यी दुई नेताको निर्णयलाई स्याङ्जाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

दुई पटक स्याङ्जाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका थापाले समयको मागअनुसार अब नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। पार्टीलाई दीर्घकालीन रूपमा मजबुत बनाउन युवालाई अगाडि ल्याउन आवश्यक रहेको उनको भनाइ छ। उनले निर्वाचन नलड्ने निर्णयलाई व्यक्तिगत होइन, राजनीतिक संस्कारको विषयका रूपमा प्रस्तुत गरेका छन्।

यस्तै, कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति तथा पूर्वमन्त्री श्रेष्ठले पनि यसपटक चुनावी प्रतिस्पर्धाबाट टाढा रहने बताएका छन्।

दुवै नेताको कदमलाई काँग्रेस स्याङ्जामा नेतृत्व परिवर्तन र नयाँ अनुहारलाई अवसर दिने दिशातर्फको सङ्केतका रूपमा हेरिएको छ। आगामी निर्वाचनमा पार्टीले कसलाई अगाडि सार्छ भन्ने चासो बढिरहेका बेला अनुभवी नेताहरूको यस्तो निर्णयले जिल्लाको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको छ।