काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्नो सेवा विस्तार गर्दै याङ्गो एपमार्फत नयाँ एक्सप्रेस तथा कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरू गरेको छ।
काठमाडौँ केन्द्रित यस सेवामार्फत अब व्यक्ति–व्यक्ति तथा साना तथा मध्यम व्यवसायले सहज, छिटो र लचिलो ढुवानी सेवा उपयोग गर्न सक्नेछन्।
नयाँ सेवासँगै याङ्गो एपले राइड–हेलिङसँगै डेलिभरी सेवा पनि एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ। यसले काठमाडौँका बासिन्दा तथा आगन्तुकहरूको दैनिक आवागमन र ढुवानी आवश्यकतालाई थप सरल बनाउने कम्पनीको दाबी छ।
याङ्गो डेलिभरीअन्तर्गत काठमाडौँमा तीन प्रकारका ढुवानी विकल्प उपलब्ध छन्। साना पार्सल तथा कागजातका लागि मोटो कुरियर, मध्यम आकारका सामानका लागि कार कुरियर र ठूला तथा भारी सामान ढुवानीका लागि नयाँ कार्गो विकल्प सुरु गरिएको छ। शहरी जीवनशैली र साना व्यवसायमा छिटो तथा भरपर्दो ढुवानीको माग बढ्दै गएको सन्दर्भमा यी विकल्पहरू उपयोगी हुने अपेक्षा गरिएको छ।
याङ्गो डेलिभरीका दक्षिण एसियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरका अनुसार कम्पनीको लक्ष्य काठमाडौँमा सामान पठाउने र प्राप्त गर्ने प्रक्रियालाई अझ सहज बनाउनु हो।
“प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार डेलिभरी विकल्प छान्न सकून् भन्ने हाम्रो उद्देश्य हो। सानो प्याकेजदेखि ठूला सामानसम्म, प्रक्रिया सरल छ—एप खोल्ने, विकल्प छान्ने र सेवा साझेदारमार्फत डेलिभरी अनुरोध गर्ने,” उनले भने।
यो सेवा दैनिक प्रयोगका विविध आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको याङ्गोले जनाएको छ। कागजात, साना पार्सल, मध्यम आकारका सामग्रीदेखि ठूला खरिद सामानसम्म ढुवानी गर्न सकिने गरी सेवा डिजाइन गरिएको छ। विशेषगरी नयाँ कार्गो विकल्पले काठमाडौँभित्र भारी तथा ठूला सामान ढुवानीलाई सहज बनाउने विश्वास कम्पनीको छ।
याङ्गो डेलिभरीमा रुटिङ र ब्याचिङ एल्गोरिदम प्रयोग गरिएको छ, जसले सवारी साधनको अधिकतम उपयोग गर्दै ट्राफिक अवस्थाका बाबजुद समयमै डेलिभरी हुने दर सुधार गर्न मद्दत गर्छ। साथै, लाइभ ट्र्याकिङ सुविधामार्फत पठाइएका सबै पार्सलहरू रियल टाइममा निगरानी गर्न सकिने व्यवस्था गरिएको छ, जसले पारदर्शिता बढाउने बताइएको छ।
कम्पनीका अनुसार याङ्गो डेलिभरीले आफ्नै सवारी वा कुरियर सञ्चालन गर्दैन। बरु, यसले स्थानीय नेपाली यातायात कम्पनीहरूलाई प्रविधिमार्फत डिजिटल सहयोग प्रदान गर्दै अन्तिम माइल कनेक्टिभिटी सुधार गर्ने लक्ष्य राखेको छ। यसले साझेदार चालकहरूका लागि आम्दानीका थप अवसर सिर्जना गर्नुका साथै राइड–हेलिङ र डेलिभरी दुवै क्षेत्रमा सेवा विविधीकरण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
याङ्गो ग्रुपले मे २०२५ मा ‘याङ्गो’ सिटी सर्भिसेस एपमार्फत नेपाली बजारमा प्रवेश गरेको थियो। परीक्षण चरणमा काठमाडौँमा राइड–हेलिङ सेवा सुरू गरिएको थियो भने अहिले एपमार्फत राइड–हेलिङ र डेलिभरी दुवै सेवा एकै प्लेटफर्ममा उपलब्ध छन्।


प्रतिक्रिया दिनुहोस्