लगनखेल तरकारी बजारमा विभागद्धारा विषादी परीक्षण, सबै नमुना उपभोग योग्य


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका–स्थित लगनखेल तरकारी बजारमा बिक्री–वितरण भइरहेका तरकारी तथा फलफूलको अनुगमन गरेको छ।

गत माघ २ गते लगनखेल तरकारी बजारका विभिन्न खुद्रा पसलबाट बिक्रीका लागि राखिएका कुल १२ प्रकारका तरकारी तथा फलफूलको नमुना सङ्कलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत जीवनाशक विषादीको अवशेष परीक्षण गरेको हो।

परीक्षणका क्रममा स्टल नम्बर ११ बाट सङ्कलन गरिएको काउली र करेला, स्टल नम्बर १६ को सुन्तला, स्टल नम्बर २० का काँको र क्याप्सिकम, स्टल नम्बर ४६ का परवर र भिन्डी, स्टल नम्बर ४७ का खुर्सानी र मटरको कोसा, स्टल नम्बर ५२ को मेवा, स्टल नम्बर ५७ को टमाटर तथा स्टल नम्बर ८२ को रायो सागको परीक्षण गरिएको विभागले जनाएको छ।

धादिङ, नौबिसे, लेले, भक्तपुर, कालिमाटी तरकारी बजार तथा भारतबाट आएका यी तरकारी र फलफूलको नमुना परीक्षण गर्दा सबैमा जीवनाशक विषादीको अवशेष अनुमत सीमा भित्र रहेको र मानव उपभोगका लागि उपयुक्त देखिएको विभागले स्पष्ट पारेको छ। परीक्षण गरिएका सबै नमुनाको विश्लेषण नतिजा ‘अनुकूल’ आएको विभागको भनाइ छ।

खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिइने उल्लेख गर्दै विभागले उपभोक्तालाई ढुक्क भएर तरकारी तथा फलफूल उपभोग गर्न सकिने जानकारी दिएको छ। साथै, व्यवसायीहरूलाई पनि खाद्य स्वच्छता र गुणस्तरमा ध्यान दिन विभागले आग्रह गरेको छ।