तीन दिनसम्म माैसम बदली रहने, मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना


काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (माघ ८) देखि १० गतेसम्मका लागि आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। पूर्वानुमानअनुसार देशका विभिन्न भू–भागमा बदली, वर्षा, हिमपात तथा हुस्सुको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार माघ ८ गते राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

माघ ९ गते दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली देखिनेछ।

यस दिन सुदूरपश्चिमका केही स्थान र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ।

त्यसै दिन राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बागमतीका एक–दुई स्थानमा मध्यम हिमपात वा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपात वा वर्षाको सम्भावना छ। यस अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा असिनासहितको मेघगर्जन हुने सम्भावना समेत रहेको छ।

माघ १० गते दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।