काठमाडौँ । जारी युद्ध अन्त्यका लागि युक्रेन, रुस र अमेरिकाका अधिकारीहरू पहिलोपटक त्रिपक्षीय वार्तामा बस्ने भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले युक्रेन, रुस र अमेरिकाका अधिकारीहरू पहिलोपटक आज र भोली त्रिपक्षीय बैठक बस्ने जानकारी गराएका हुन् ।
अमेरिकाले युक्रेनमाथि भएको रुसको युद्ध अन्त्य गराउने प्रयासलाई अघि बढाइरहेको र यसका लागि त्रिपक्षीय छलफल हुन लागेको राष्ट्रपति जेलेन्स्कीको भनाई छ ।
हिजो डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि जेलेन्स्कीले युक्रेनका लागि सुरक्षा प्रत्याभूतिको सर्तहरू टुङ्गो लागिसकेका छन् र युद्धपछि आर्थिक पुनर्निर्माणका लागि सम्झौता करिब तयार भइसकेको बताएका छन् । यो सम्झौता किएभले समर्थन गरेको नयाँ प्रस्तावको मुख्य अंश मानिन्छ ।
जेलेंस्कीले अबुधाबीमा हुन लागेको वार्तालाई तीन देशबिच हुन लागेको ‘पहिलो त्रिपक्षीय बैठक’ को रूपमा व्याख्या गरेका छन् । प्रस्तावित वार्ताबारे रुसबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
अमेरिकी राष्ट्रपतिले आफ्नो युक्रेनी समकक्षीसँगको बैठकलाई ‘राम्रो’ भनेका छन् तर रुसले सुरु गरेको युद्ध अन्त्य गर्ने प्रयासलाई उनले ‘चलिरहेको प्रक्रिया’ का रूपमा व्याख्या गरेका छन् ।
यसअघि, अमेरिकी दूत स्टिभ विटकफले दीर्घकालीन रुस–युक्रेन वार्तामा ‘धेरै प्रगति’ भएको र वार्ता अब एक अन्तिम मुद्दामा पुगेको बताएका थिए ।
विटकफले हिजो स्विट्जरल्याण्डको डाभोसस्थित विश्व आर्थिक मञ्चमा यी विषयबारे जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्