काठमाडाैँ । सरकारले रोल्ड ओट्सको गुणस्तर मापदण्ड निर्धारण गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै रोल्ड ओट्सलाई खाद्यान्न, दलहन तथा सोबाट बनेका पदार्थहरूको सूचीमा समावेश गरी नयाँ गुणस्तर मापदण्ड तोकेको हो।
मन्त्रालयले नेपाल राजपत्र खण्ड ७५, संख्या ५८, भाग ५ मा प्रकाशित सूचनाअनुसार खाद्य वस्तुको गुणस्तर निर्धारण सम्बन्धी अघिल्लो आदेशमा संशोधन गर्दै सङ्केत नं. ०७.३० पछि नयाँ सङ्केत नं. ०७.३१ थप गरेको छ। सो सङ्केतअन्तर्गत रोल्ड ओट्सको गुणस्तर निर्धारण गरिएको छ।
सूचनाअनुसार यो गुणस्तर मापदण्ड मानव उपभोगका लागि उत्पादन, प्याकेजिङ गरी बिक्री–वितरण गरिने रोल्ड ओट्समा लागू हुनेछ। रोल्ड ओट्स भन्नाले स्वच्छ र सफा जै (Avena sativa वा Avena byzantine) लाई दलेर भुस हटाई, बफ्याएर, रोलर वा अन्य उपयुक्त विधिबाट चेप्टो बनाई भुटेर तयार गरिएको खाद्य पदार्थलाई जनाइएको छ।
मन्त्रालयले खाद्य वस्तुको स्वच्छता, उपभोक्ता स्वास्थ्य सुरक्षा तथा बजारमा बिक्री हुने खाद्य सामग्रीको गुणस्तर सुनिश्चित गर्न यो निर्णय गरिएको जनाएको छ। नयाँ मापदण्ड लागू भएसँगै रोल्ड ओट्स उत्पादन तथा बिक्री गर्ने उद्योगी–व्यवसायीले तोकिएको गुणस्तर पालना गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्