रोल्पामा पूर्वअर्थमन्त्री पुनसँग अर्थशास्त्री डा. वलीको प्रतिस्प्रधा,बदलिनसक्छ परम्परागत चुनावी मुद्दा


रोल्पा । लुम्बिनी प्रदेश योजना अयोगको दुई पटक सदस्य भएका डा. सुदनकुमार वली यसपटक रोल्पाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।

टिकट नपाउँदासम्म रोल्पामा वलीको उम्मेदवारीबारे चर्चा नै थिएन ।

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यमध्ये एक उम्मेदवार बन्ने चर्चा थियो ।

अमरसिंह पुनले नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिहेका बेला युवालाई अगाडि बढाउने बताएर आफू चुनाव नलड्ने स्पष्ट पारिसकेका थिए । यसपछि धेरैले मनोजमणि आचार्यको उम्मेदवारीको आँकलन गरेका थिए ।

पुन र आचार्य दुबै गगन थापा पक्षधर थिए । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बोलाइएको विशेष महाधिवशेनलाई समर्थन गर्ने दुई प्रदेशमध्ये पुन एक प्रदेशका सभापति थिए । आचार्य दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयको संयोजक थिए । चाहेको भए दुई मध्ये एक जसले पनि टिकट पाउने सम्भावना थियो तर एकाएक अर्थशास्त्री डा. सुदनकुमार ओलीलाई टिकट दिइयो ।

पूर्वअर्थमन्त्रीसँग भिड्दै अर्थशास्त्री

रोल्पामा माओवादीको प्रभावित क्षेत्र हो । अहिलेसम्म माओवादी पंक्तिले नै चुनाव जित्दै आएको छ ।

पछिल्लो मतको अवस्था हेर्ने हो भने तत्कालीन नेकपा माओवादी केन्द्रको ३२ हजार र नेपाली कांग्रेसको २२ हजार हराहारीमा मत छ ।

जनयुद्धको प्रभावका कारण पनि नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता पुन चुनावमा हाबी हुनेजस्तो देखिन्छ । यद्यपी पछिल्लो समय लगातार घट्दै गएको मत,विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी)को पहिलो पटक प्रतिनिधि सभामा भाग लिँदै दिएको उम्मेदवारीको प्रभाव समेत देखिने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केही प्रभाव पार्ने छ ।

राजनीतिक पृष्ठभूमिबाट अर्थमन्त्री बनेका पुन र एकेडेमिक अभ्यासबाट अथतन्त्र क्षेत्रको वकालत गरेका अर्थशास्त्री वलीको रोल्पामा पहिलो पटक चुनावी प्रतिस्प्रधामा भेट भएको छ । पुन ३७ वर्षमै मन्त्री बनेका थिए भने वली अहिले ३५ वर्षका छन् ।

बदलिन सक्छ परम्परागत चुनावी मुद्दा
२०६२/६३ को परिवर्तनपछि रोल्पामा एकलौटी चुनाव जित्दै आएको माओवादी पंक्तिको स्थानीय नारा मुख्यतया जनयुद्धसँग बढी जोडिने गरेको थियो ।

जसको केन्द्रमा जनयुद्धका घाइते, अपाङ्ग, शहिद परिवार र रोल्पा (रोल्पाली भनेकै माओवादी हुन् भन्ने धारणा) नै थियो । केन्द्रमा तयार गरिने घोषणा पत्रमा उल्लेख गरिएका आर्थिक विकासका एजेन्डाले स्थानीय तहमा खासै छुँदैन थियो ।

नेताहरूको चुनावी नारामा पनि आर्थिक विकास भन्दा राजनीतिक नाराहरू नै बढी हाबी हुन्थ्यो ।

विभिन्न क्षेत्रमा पुगेर मौखिक विकासको घोषणा गरे पुग्ने अवस्था थियो । सम्भवत यो बुझेर होला पहिलो पटक पूर्वअर्थमन्त्री पुनले यसपटक उम्मेदवारी दर्ता गरापछि भएको पत्रकार भेटघाटमा आफूले रोल्पामा ठुला आयोजना निर्माणका लागि उम्मेदवारी दिएको पनि बताए ।

रोल्पामा अहिलेसम्म आर्थिक अवस्था नै बदल्ने कुनै ‘मेगा प्रोजेक्ट’ वा जिल्लाको गौरब गर्ने कुनै आयोजना बन्ने वा निर्माण हुन सकेको छैन । माडि जलाशययुक्त आयोजना समेत फिर्ता भइसकेको छ । त्यसैले यसपटक राजनीतिक नाराभन्दा आर्थिक विकासको नाराको प्रभाव देखिन खोेजेको छ ।

चुनावी नारा बदल्ने प्रयसमा वली

उम्मेदवार वलीले सामाजिक सञ्जालमा लेखेका छन्,“रोल्पाले अब राजनीतिको कुरा गर्दैन अब विकासको प्रष्ट दृष्टिकोण सहित अगाडी बढ्छ । हामीले रोल्पा विकासको पहिचान बदल्नु छ ।”

यो भनाईसँगै वलीले आफ्नो रोल्पामा गर्न सक्ने दृष्टिकोणसमेत प्रस्तुत गरेका छन् । उनले ‘कोर गर्भनेन्स फिलोसफी’ र ‘द इकोनोमी रोडम्याप’ भनेर छाटोमा चुनावी मुद्दा अगाडि बढाएका छन् ।

यसपटक जेनजी आन्दोलनका कारण पनि राजनीतिक नारा हाबी हुने रोल्पामा आर्थिक विकासको नारा पनि प्रवेश गर्ने देखिन्छ । यसमा वलीले सुरु गरेको प्रचार अभियानले छनक दिने गरेको छ ।