आसन्न निर्वाचन देश बचाउने र देश जलाउने शक्तिबिचको प्रतिस्पर्धा हो: महासचिव पोखरेल


काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई ‘देश जलाउने र देश बचाउने शक्तिबिचको प्रतिस्पर्धा’ का रूपमा चित्रण गर्दै युवाहरूलाई देश बचाउने शक्तिको पक्षमा उभिन आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल दाङले घोराहीमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेलले पछिल्ला दिनमा बढ्दो लोकप्रियतावाद (पपुलारिजम) ले देशलाई दुर्घटनातर्फ धकेलिरहेको दाबी गरे ।

उनले समाजलाई विग्रह र विभाजनतर्फ लैजाने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सचेत र संगठित हुन युवालाई आह्वान गरे ।

“यो निर्वाचनलाई समान्य रुपमा लिनु हुँदैन । निर्वाचन मुलुकका लागि अत्यन्तै महत्वपूर्ण छ । निर्वाचन देश जलाउने र देश बचाउने शक्तिबीचको प्रतिस्पर्धा हो”, महासचिव पोखरेलले भने, “तपाईँ युवाहरूको काँधमा देश बचाउने जिम्मेवारी रहेको छ । इतिहासले सुम्पिएको यो जिम्मेवारी बहन गर्दै आशन्न निर्वाचनमा देश बचाउने शक्ति नेकपा एमालेको पक्षमा उभिन म युवा साथीहरुलाई आग्रह गर्दछु ।”

पोखरेलले षड्यन्त्रलाई चिरेर मुलुकको रक्षा गर्ने जिम्मेवारी एमालेको रहेको उल्लेख गर्दै समाजलाई विभाजन गर्नु भनेको राष्ट्रलाई कमजोर बनाउनु भएको बताए । “अराजकता र पपुलारिजमबीचको यो प्रतिस्पर्धामा राष्ट्रहितका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्छ,” उनले भने ।

लोकप्रियतावाद लोकतन्त्रको विकल्प नभई अराजकतावादतर्फ धकेल्ने खतरा रहेको उल्लेख गर्दै उनले अहिले पुरानो र नयाँ पुस्ताबीच कृत्रिम द्वन्द्व सिर्जना गरी समाज र देशलाई विभाजन गर्ने प्रयास भइरहेको बताए ।

“नेपाली समाज सधैं पुस्तागत सहकार्यबाट अघि बढेको हो”, उनले भने, “विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताले मात्रै समृद्धिको बाटो खोल्छ ।”

महासचिव पोखरेलले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि भइरहेका षड्यन्त्रविरुद्ध देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

साथै लोकतन्त्र, शान्ति–सुरक्षा र कानुनी शासनमाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै राज्यलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरे । युवा संघ दाङका अध्यक्ष विवेक योगीको अध्यक्षतामा भएको भेलाको सहजीकरण प्रदेश इञ्चार्ज देवु बस्नेतले गरेका थिए ।