मुलुकको स्थायित्व र समग्र विकासका लागि सबै राजनीतिक दलहरूले एकता कायम गर्नुपर्छः सिटाैला


काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको स्थायित्व र समग्र विकासका लागि सबै राजनीतिक दलहरूले एकता कायम गर्नुपर्ने बताएका छन्।

शुक्रवार राष्ट्रिय सभाको १९औँ अधिवेशनमा बोल्दै नेता सिटौलाले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा राजनीतिक दलहरूले राष्ट्रिय एकता निर्माणको लक्ष्यसहित आफूलाई प्रस्तुत गर्नुपर्ने बताएका हुन्। उनले राजनीतिक दल र सांसदहरूबीच एकता नभए मुलुक दिनप्रतिदिन कमजोर बन्दै जाने चेतावनीसमेत दिए ।

उनले भने, “हरेक राजनीतिक दलभित्र र समग्र दलहरूबीच एकता आवश्यक छ। यसले मेचीदेखि महाकाली, तराई, पहाड र हिमालसम्म, सबै वर्ग, क्षेत्र, जाति, लिंग र पेशामा रहेका नेपालीलाई एकताबद्ध गर्न सक्नु पर्छ। राष्ट्रिय भावना विकास हुनेगरी निर्वाचनमा प्रचारमा जुट्न सबै राजनीतिक दललाई मेरो आग्रह छ। चुनावमा एकअर्कालाई गाली गर्ने भन्दा, जनतामा आशा र विश्वास जगाउने प्रयास गर्नुहोस्।”

सिटौलाले हालको सरकारलाई अवैधानिक रहेको उल्लेख गर्दै, त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको बताए। उनले उम्मेदवार र राजनीतिक दलहरूलाई जनतासँग सकारात्मक नीति र विचार प्रस्तुत गरेर जनताको मन जित्न जोर दिए ।