आगामी तीन दिन देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह


काठमाडाैँ। आज साँझ ६ बजे जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार आगामी तीन दिन देशका विभिन्न भू–भागमा बदली, वर्षा, हिमपात तथा मेघगर्जनको सम्भावना रहेको छ।

महाशाखाका अनुसार माघ ९ गते (आज) राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ। बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा, लुम्बिनीका केही स्थानमा तथा गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा अधिकांश स्थानमा मध्यम हिमपात वा वर्षा हुन सक्नेछ।

साथै बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिना समेत पर्न सक्ने महाशाखाले जनाएको छ।

माघ १० गते (शनिबार) दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ।

यसै दिन गण्डकी र कर्णाली प्रदेशका अन्य भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना देखिएको छ। शनिबार राति पहाडी तथा हिमाली भू–भागमा बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ।

त्यसैगरी माघ ११ गते (आइतबार) दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागमा बदली रहने, पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ। आइतबार राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम प्रायः सफा रहने अनुमान छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले मौसमको अवस्था परिवर्तनशील रहने भएकाले आवश्यक सतर्कता अपनाउन र थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखासँग सम्पर्कमा रहन अनुरोध गरेको छ।