नेकपा(माओवादी)को आर्थिक नीति : एकीकृत स्वामित्व प्रणालीमा आधारित समाजवादी र प्रतिस्पर्धात्मक


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्न लागेको नेकपा (माओवादी)ले आफ्नो आर्थिक नीति उल्लेख गरेको छ ।
नेकपा माओवादीले आफ्नो आर्थिक नीतिलाई ‘एकीकृत आर्थिक नीति’ भनेको छ ।

यसमा एकीकृत स्वामित्व प्रणालीमा आधिारत समाजवादी र प्रतिस्प्रधात्मक अर्थनीति अबलम्बन गर्ने नेकपा माओवादीले उल्लेख गरेको छ ।

केन्द्रले चुनावी प्रतिबद्धता पत्रमा नेकपा माओवादीले देशको आर्थिक दिशा नयाँ आर्थिक मार्गमा आधारित हुने उल्लेख गरेको छ ।

चुनावी प्रतिबद्धता पत्रमा भनिएको छ,“आर्थिक क्षेत्रमा राज्यको नीति आत्मनिर्भर, अन्तरनिर्भर हुँदै संमृद्धितिर जाने हुनुपर्छ । त्यसका लागि दिगो कृषि, पर्यटन, उद्योग, व्यापारका क्षेत्रमा मुख्य ध्यान केन्द्रित गरिनेछ ।

मुलुकमा एकीकृत अर्थ नीति अवलम्वन गरिने छ ।” आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्र निर्माणको नीति अवलम्वन गरिने र यो एकीकृत स्वामित्व प्रणालीमा आधारित समाजवादी र प्रतिस्पर्धात्मक हुने भनिएको छ । नेकपा माओवादीले भनेको छ,“राज्य र निजी क्षेत्रको साझेदारीमा अगाडि बढ्ने नीति लिइने छ ।”

“कृषि अर्थतन्त्र नेपालको लागि अझै पनि मुख्य र अर्थतन्त्र आधार हो र हुनुपर्छ,” घोषणा पत्रमा भानिएको छ,“जमिन, जङ्गल, पानी, पर्यावरण, उर्वरता, जनशक्ति, आवश्यकता सबै दृष्टिले कृषिलाई राज्यले विशेष प्राथमिकतामा राखी उद्यमशिलताको प्रवद्र्धन, व्यवसायीकरण र बजारीकरणको व्यवस्था गर्नुपर्छ ।”

कृषिलाई आधुनिकीकरण गरी सबल र परिणाममुखी बनाउन राज्यले कृषि क्षेत्रमा लगानी वृद्धि गर्न विशेष नीति तर्जुमा गर्नुपर्ने नेकपा माओवादीको जोड छ ।

भूउपयोग नीति, तालिम, प्रविधिमुखी, उन्नत मल, बीउ, बजार व्यवस्थाको सुनिश्चिता गर्नुपने घोषणा पत्रमा उल्लेख छ । घोषणा पत्रमा भनिएको छ,“कृषिउत्पादनमा खाद्यबाली, फलफूल, जडीबुटी, उद्योग,व्यापार अर्थतन्त्रलाई नेपालका समृद्धिका आधार बनाउनुपर्छ ।

नेपाली कच्चा पदार्थ,नेपाली बजार र अन्तराष्ट्रिय बजारलाई केन्द्रमा राखेर उद्योग क्षेत्र विकासमा जोड दिनुपर्छ ।”

नेकपा माओवादीले स्वदेशी लगानी, साधन तथा स्रोतमा आधारित रही जलविद्युत्,खानी,पर्यटन,सिमेन्ट,कपडा आदि उद्योग स्थापना र विकासमा जोड दिने घोषणा पत्रमा उल्लेख गरेको छ ।