वागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी, दुई पदका लागि ६ उम्मेदवार प्रतिस्पर्धामा


काठमाडाैँ । बाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान आज जारी रहेको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत वागमती प्रदेशमा महिलातर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि मतदान भइरहेको हो। यस निर्वाचनमा कुल ६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

महिलातर्फ एमाले–काँग्रेस गठबन्धनबाट नेपाली काँग्रेसकी गीता देवकोटा, नेकपाबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन उम्मेदवार छन्।

यस्तै, अन्यतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का डा. प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दिएका छन् ।

मतदानका लागि दुई वटा केन्द्र तोकिएको छ। ‘क’ मतदान केन्द्रमा वागमती प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ भने ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्नेछन्।

दुवै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ८–८ जना गरी कुल १६ जना कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत केशव कौशिकले जानकारी दिए ।

वागमती प्रदेशसभाका १ सय १० सदस्यहरूमध्ये हाल १ सय ४ जना सदस्य कायम छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन ६ जनाले राजीनामा दिएका हुन्।

यस्तै, स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फ १ सय १९ पालिकाका २ सय ३८ जनामध्ये नागार्जुन नगरपालिकाका मेयर निलम्बनमा रहेकाले र ३ जनाले राजीनामा दिएका कारण हाल २ सय ३४ जना मतदाता कायम रहेका छन्।

प्रदेशसभातर्फ ५३ मतभारसहित ५ हजार ५ सय १२ र स्थानीय तहतर्फ १९ मतभारसहित ४ हजार ४ सय ४६ गरी कुल ९ हजार ९ सय ५८ मतभार कायम रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो।

वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (समाजवादी) का वेदुराम भुसालको पदावधि आगामी फागुन महिनामा सकिँदैछ। सोही पदपूर्तिका लागि संवैधानिक प्रावधानअनुसार निर्वाचन भइरहेको हो।