काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई पत्र लेख्दै आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन उच्च मनोबलका साथ सक्रिय हुन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले हिजो साँझ पार्टीका करिब ६ लाख ६३ हजार संगठित सदस्यलाई व्यक्तिगत रूपमा पत्र पठाउँदै निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने निर्णय गर्ने उल्लेख गरेका हुन् ।
उनले देश निर्माणका लागि नेकपा एमालेको बहुमत आवश्यक रहेको बताउँदै त्यसका लागि पार्टीका उम्मेदवारको विजय अनिवार्य रहेको पत्रमा उल्लेख गरेका छन्।
“देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ,”पत्रमा अध्यक्ष ओलीले उल्लेख गरेका छन्, “अतः बहुमत हासिल गर्न पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु।”
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार संगठित सदस्यहरूलाई निर्वाचन प्रचारमा थप सक्रिय र उत्साहित बनाउन अध्यक्ष ओलीले पत्राचार गरेका हुन् । अध्यक्षले ठूलो सङ्ख्यामा रहेका पार्टी सदस्यलाई व्यक्तिगत रूपमा पत्र लेखेर हौसला प्रदान गरेको शाहीले बताए ।
“अध्यक्षज्यूले सबै संगठित सदस्यलाई सिधै पत्र पठाएर उत्साह बढाउनुभएको छ,”शाहीले भने, “यसले पार्टी सदस्यहरूलाई अध्यक्षसँग प्रत्यक्ष सम्पर्कको अनुभूति गराउने विश्वास गरिएको छ।”
देशमा विध्वंस र आगजनी गर्ने शक्तिलाई चुनावी मैदानबाटै विदा गरेर निर्माणको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको सन्देश पार्टी सदस्यमार्फत आम मतदातासम्म पुर्याउने उद्देश्यले पनि पत्राचार गरिएको शाहीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्