काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजश्व सङ्कलन गर्ने निकायको रूपमा सीमित राख्न नहुने बताएका छन्।
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भन्सारलाई सीमा नाकाको सुरक्षा, व्यापार सहजीकरण, जनस्वास्थ्य प्रवद्र्धन र आपूर्ति श्रृङ्खलाको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने निकायका रूपमा लिनुपर्नेमा जोड दिएका हुन्।
सचिव घिमिरेले हाल भन्सार सुधार तथा आधुनिकीकरण रणनीति तयार हुँदै रहेको उल्लेख गर्दै वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी केन्द्रित हुँदा दीर्घकालीन रणनीति र आधुनिकीकरणमा पर्याप्त ध्यान नपाएको बताए ।
उनले भने, “भन्सार प्रशासन केवल राजस्व उठाउने निकाय होइन। बोर्डरको नाका सुरक्षा, व्यापार सहजिकरण, जनस्वास्थ्य प्रवद्र्धन र आपूर्ति श्रृङ्खलाको व्यवस्थापनमा भन्सारको भूमिका अत्यन्त महत्वपूर्ण छ। वार्षिक कार्यक्रम र माइलस्टोनसँगै नयाँ रणनीति पनि तयार गर्नुपर्छ।”
सचिव घिमिरेले भन्सार ऐनअनुसार प्रशासन सजग रहनुपर्ने र निजी क्षेत्र पनि सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार अब जाँचपास प्रक्रियामा ढिलाइ हुन नहुने भए पनि व्यवसायीहरूले पनि भन्सार ऐन उल्लङ्घन गर्नुहुँदैन।


प्रतिक्रिया दिनुहोस्