भोलि र पर्सि देशभर आंशिकदेखि मध्यम वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिनमा देशका विभिन्न भू-भागमा आंशिकदेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

माघ १३ गते (भाेलि) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुने सम्भावना रहेको छ। साथै, बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा पनि हुनसक्ने अनुमान छ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुनसक्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गको सम्भावना पनि रहेको छ।

माघ १४ गते (पर्सि) दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। सबै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुनसक्ने सम्भावना छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिमसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने अनुमान छ भने बाँकी भू-भागमा हल्का वर्षा हुनसक्ने सम्भावना छ।

राति देशभर आंशिक बादल रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात वा वर्षा हुनसक्ने अनुमान गरिएको छ।