नयाँ भन्सार ऐनको कार्यान्वयनमा तयारी, नियमावली आजै मन्त्रिपरिषद्मा पेश हुने


काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले नयाँ भन्सार ऐन कार्यान्वयनको तयारी अवस्थामा पुगेको बताएका छन्।

भन्सार ऐन आए पनि नियमावली नआएको कारण ऐनमा रहेका व्यवस्था पूर्णरूपमा लागू हुन नसकेको अवस्थाको अन्त्य गर्न सरकार लागिरहेको उनले बताए ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री खनालले नयाँ भन्सार ऐन जारी गरिएको मुख्य उद्देश्य निजी क्षेत्रलाई सहज बनाउनु र भन्सार प्रक्रियालाई व्यवस्थित गर्नु भएको बताए । उनका अनुसार ऐनलाई पूर्णरूपमा कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत गराउने तयारी भइरहेको छ।

मन्त्री खनालले भने, “हामीले निजी क्षेत्रलाई सहज बनाउन नयाँ भन्सार ऐन ल्याएका हौँ। त्यस ऐनलाई पूर्ण रूपमा लागू गर्न नियमावली तर्जुमा गरिरहेका छौँ। केही समय लागेकै हो, तर मेरो विश्वास अनुसार आज साझसम्म नियमावली मन्त्रिपरिषद्मा पुग्नेछ र पास हुने प्रक्रिया पूरा हुनेछ।”

भन्सार ऐनलाई लिएर दण्ड धेरै भएको भन्ने गुनासोसमेत आउने गरेको भन्दै मन्त्री खनालले अब यस्तो स्थिति सिर्जना गर्ने लक्ष्य रहेको बताए जसले गर्दा दण्ड भरसक नपर्नुपर्ने अवस्था सिर्जना होस्। निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालयबिच सहकार्य बढाएर दण्डको आवश्यकता नै कम गर्न सकिने उनको भनाइ छ।

अर्थमन्त्री खनालले भन्सार प्रशासन सुधार गर्दै व्यापारलाई सहज बनाउने दक्षता अभिवृद्धिका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, भन्सार सुधार रणनीति छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उनले आफू निजी क्षेत्रमैत्री अर्थमन्त्री भएको बताउँदै सुधारका लागि निरन्तर प्रयास गरिरहेको पनि स्पष्ट पारे ।