काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क तथा नदी करिडोरमा पैदल यात्रुका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम सुरू गरेको छ।
यसअन्तर्गत जीर्ण अवस्थामा पुगेका कुर्सीको मर्मत, सम्भार र रंगरोगन गरिनेछ भने यात्रुको चाप बढी हुने स्थानमा नयाँ कुर्सी थप गरिनेछ। साथै, एकै स्थानमा एकै प्रकारका कुर्सी राखी एकरूपता कायम गर्दै तिनलाई आकर्षक र प्रयोगमैत्री बनाउने योजना महानगरपालिकाले अघि सारेको छ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार उमेर समूह र शारीरिक अवस्थालाई ध्यानमा राखी पैदल यात्रुको सहजता बढाउने उद्देश्यले यो काम थालिएको हो। उनले भने,“यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन। तर, एकरूपता कायम गर्न आवश्यक परे साटफेर हुन सक्छ।”
यसैक्रममा सिंहदरबार–भद्रकाली सडक खण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीको मर्मत कार्य सुरु गरिएको छ। उक्त क्षेत्रमा दुई प्रकारका कुर्सी रहेकामा पुराना बेञ्च मर्मतसम्भार र रंगरोगन गरी यथास्थानमै राखिने विभाग प्रमुख राईले जानकारी दिनुभयो। विगतमा कुर्सी यताउता सारिने गरिएको अभ्यासलाई व्यवस्थित गर्ने गरी काम अघि बढाइने उनको भनाइ छ।
सार्वजनिक कुर्सी व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले लिएका छन्।
तीमध्ये आयोजनाले यस कार्यलाई प्राथमिकतामा राखेको छ। आयोजनाले २०८१ साल असोज महिनामा सहरका विभिन्न स्थानमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो।
१ दशमलव ५ मिटर लम्बाइ र आधा मिटर चौडाइका यी कुर्सी सार्वजनिक खरिद प्रक्रियामार्फत जडान गरिएका हुन्। करसहित प्रत्येक कुर्सीको लागत १८ हजार ६५५ रुपैयाँ परेको छ।
उक्त कुर्सीमध्ये भद्रकालीदेखि सिंहदरबार सडक खण्डअन्तर्गत पैदल मार्गमा ११ वटा राखिएका छन्। यसबाहेक बागमती र विष्णुमती नदीका करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचनलगायत स्थानमा पनि सार्वजनिक कुर्सी जडान गरिएको थियो।
दोस्रो चरणमा प्राप्त भएका ४९ वटा कुर्सी नापी विभाग, तीनकुने–कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर–बबरमहल, कलपोखरीलगायत स्थानमा राखिने जनाइएको छ।
यस्तै, ट्याक्टिकल अर्बनिजमअन्तर्गत तेस्रो प्याकेजमा थप १५० वटा कुर्सी प्राप्त हुनेछन्। ती कुर्सी माग र आवश्यकताका आधारमा सहरका विभिन्न स्थानमा जडान गरिनेछन्।


प्रतिक्रिया दिनुहोस्