रसुवा भन्सारले छ महिनामा उठायो रु १.१६ अर्ब राजस्व संकलन


रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले हाल करिब २०० वटा मालवाहक कन्टेनरका सामग्री परीक्षण भइरहेको जानकारी दिए ।

गत असारमा ल्हेन्दे खोलामा आएको बाढीपछि सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुंगा–बालुवा हटाउने काम भइरहेको र सरसफाइपछि करिब २५० वटा ट्रक अट्ने वातावरण बनेको उनले बताए । कार्यक्रममा उत्कृष्ट काम गर्ने दुई व्यवसायी र चार कर्मचारीलाई सम्मान गरिएको थियो ।

वक्ताहरूले रसुवागढी नाकालाई नीति–नियमअनुसार सञ्चालन गर्दै सडक सुधार र उत्तरी नाकाको व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।