काठमाडाैँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पछिल्ला दिनहरूमा देखिएका घृणाजन्य अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ।
आयोगले यस्ता अभिव्यक्तिले निर्वाचन प्रक्रिया र शान्ति सुरक्षामा नकारात्मक असर पार्ने भन्दै जिम्मेवार व्यवहार गर्न सबै पक्षलाई आग्रह गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्काप्रति लक्षित आक्षेप, अमर्यादित आरोपप्रत्यारोप र घृणाजन्य अभिव्यक्ति बढ्दै गएको आयोगको निष्कर्ष छ।
यस्ता अभिव्यक्तिले समाजमा अराजकता फैलाउने र निर्वाचनको समयमा शान्ति सुरक्षामा गम्भीर असर पार्न सक्ने आयोगले जनाएको छ।
आयोगका अनुसार नेपालको संविधान तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले विचार र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि अरूको मर्यादामा चोट पुर्याउने र शान्ति सुरक्षामा खतरा सिर्जना गर्ने अभिव्यक्तिलाई स्वतन्त्रताको नाममा जायज ठहर गर्न सकिँदैन। अधिकारको प्रयोग गर्दा त्यसले अरूको अधिकारमा पार्न सक्ने असरप्रति सबै जिम्मेवार व्यक्तिहरू सचेत हुन आवश्यक रहेको आयोगको भनाइ छ।
आयोगले राजनीतिक दलका नेता, उम्मेदवार तथा सर्वसाधारणलाई संविधान, प्रचलित कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्यमान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन आग्रह गरेको छ।
सामाजिक सञ्जाल प्रयोग गर्दा समेत शिष्ट, मर्यादित र मानव अधिकारमैत्री भाषा प्रयोग गर्न तथा घृणायुक्त सामग्रीको प्रचारप्रसार नगर्न आयोगले अनुरोध गरेको छ। साथै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि आयोगले जोड दिएको छ।
घृणाजन्य अभिव्यक्तिले समाजमा विभाजन र घृणा फैलाउने मात्र होइन, समग्र शान्ति सुरक्षामा चुनौती सिर्जना गर्न सक्ने भन्दै आयोगले शान्ति सुरक्षाको अवस्था थप मजबुत बनाउन नेपाल सरकारलाई समेत निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्