भरतपुरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध झण्डै ७ करोड भ्रष्टाचार मुद्दा दायर


काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिकामा कार्यरत रहँदा अवैध रूपमा ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यले आफ्नो पद र जिम्मेवारीको दुरुपयोग गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोपपत्र दर्ता गरेको हो। आयोगका अनुसार आचार्यको वैधानिक आम्दानी र खर्चबीच ठूलो अन्तर देखिएको छ, जसको स्रोत पुष्टि हुन सकेको छैन।

अनुसन्धानका क्रममा आचार्यले सार्वजनिक सेवामा रहँदा आर्जन गरेको अवैध रकमबाट श्रीमती लिली सुवेदीको नाममा समेत विभिन्न सम्पत्ति खरिद गरेको पाइएको आयोगले जनाएको छ। सोही कारण ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई समेत प्रतिवादी बनाइएको हो।

आयोगका अनुसार आचार्य र उनका एकाघर परिवारका सदस्यहरूको वैधानिक आय ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ मात्र देखिन्छ। तर आय–व्यय विवरण र बैंक मौज्दातको मूल्यांकन गर्दा त्यसभन्दा झण्डै दोब्बरभन्दा बढी, अर्थात् ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको अस्वाभाविक सम्पत्ति भेटिएको छ।

वैधानिक आम्दानीले नधानिने गरी सम्पत्ति आर्जन भएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार आचार्य र सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।