काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका मुद्दा संसदमा प्रभावकारी रूपमा उठान गर्नका लागि आफू संसदीय निर्वाचनमा होमिएको बताएका छन्।
मंगलबार इप्पानद्वारा आयोजित चियापान कार्यक्रममा बोल्दै पराजुलीले नेपालको समृद्धिको मुख्य आधारका रूपमा लिइएको ऊर्जा क्षेत्र अहिले विभिन्न पक्षबाट आक्रमणको सिकार बन्दै गएको भन्दै यसका सम्भावनाहरू सीमित हुने खतरा बढेको उल्लेख गरे।
ऊर्जा क्षेत्रका विद्यमान समस्या र त्यसका दीर्घकालीन समाधानबारे संसदमा गम्भीर बहस आवश्यक रहेको भन्दै त्यसकै लागि सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको उनले बताए।
उनले ठूला उद्योगमा विद्युत् लाइन काटिँदा परेको प्रभाव स्मरण गर्दै १३ वटा उद्योगको लाइन काटिँदा करिब ४० हजार व्यक्तिको रोजगारी प्रभावित हुनुका साथै ५०० मेगावाट विद्युत् खपत हुन नसकेको बताए।
“१३ वटा उद्योगको लाइन काट्दा ४० हजारको रोजगारी प्रभावित भयो, ५०० मेगावाट विद्युत् खेर गयो,” पराजुलीले भने, “अब १३ वटा मात्र होइन, १३ लाख उद्योग सञ्चालन हुने वातावरण बनाउनु छ। लाखौँ नेपालीलाई स्वदेशमै रोजगारी दिने उद्देश्यका साथ म राजनीतिमा आएको हुँ।” दलभित्र समस्या देखिए त्यसलाई बाहिर बसेर आलोचना गर्नेभन्दा सुधारका लागि मैदानमै उत्रनु आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीका समस्या समाधान गर्न ऊर्जा क्षेत्र बुझ्ने व्यक्तिहरू संसदमा पुग्न आवश्यक रहेको बताए। उनले पराजुलीको उम्मेदवारीलाई आफ्नो नैतिक समर्थन रहेको जनाउँदै आगामी निर्वाचनपछि ऊर्जा क्षेत्रलाई नजिकबाट बुझेका कम्तीमा आधा दर्जन व्यक्तिहरू प्रतिनिधिसभामा पुग्नुपर्नेमा जोड दिए।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रका विषयमा जानकार व्यक्ति जुनसुकै राजनीतिक दलबाट निर्वाचनमा सहभागी भए पनि समर्थन रहने बताए।
“हिजो ऊर्जा उद्यमीहरू आफ्नो व्यवसायमा केन्द्रित भए तर राजनीतिक दलहरूले ऊर्जा क्षेत्र बुझ्न सकेनन्,” उनले भने, “अब दलभित्रै ऊर्जा क्षेत्रमा सक्रिय व्यक्तिहरू संलग्न भएर ऊर्जा क्षेत्रलाई मुख्य एजेन्डामा ल्याउनुपर्छ।”
त्यसैगरी, इप्पानका महासचिव बलराम खतिवडाले आगामी निर्वाचनपछि संसदमा बढीभन्दा बढी ऊर्जा क्षेत्र बुझेका व्यक्तिहरू विजयी गराउन ऊर्जा उद्यमीका तर्फबाट नैतिक सहयोग र समर्थन रहने स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस्