काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनै पनि दलसँग विलय नहुने स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै उनले पार्टीको पहिचान जोगाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको एकता सम्झौतालाई ‘नराम्रो दुर्घटना’को रूपमा स्मरण गर्दै त्यस अवधिमा पार्टी गम्भीर संकटमा परेको बताए । रास्वपासँगको १२ दिनको एकताले पार्टी ‘कोमा’ जस्तै अवस्थामा पुगेको टिप्पणी गर्दै उनले अहिले भने पार्टी तन्द्रुस्त भएर पुनः अघि बढिरहेको दाबी गरे ।
पार्टी गठन भएको तीन महिना पनि नपुग्दै विभिन्न उतार–चढावको सामना गर्नुपरेको उल्लेख गर्दै घिसिङले अब कुनै पनि दलसँग मिसिएर उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह विलय हुन नदिइने प्रस्ट पारे। उनले अन्य दल उज्यालो नेपाल पार्टीमा मिसिन सक्ने भए पनि पार्टी स्वयं भने कुनै दलमा विलय नहुने अडान दोहोर्याए ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा अध्यक्ष घिसिङले पार्टीबाट उम्मेदवार बनेका १२१ जनालाई जिताउन सबैलाई सक्रिय हुन अपिल गर्नुभयो। निर्वाचनमा कम खर्च गर्दै जनतामुखी अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले नयाँ भनिएका दलहरू तडकभडकमा लागेको देख्दा दुःख लागेको टिप्पणी गरे।
कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा काम गर्दा हासिल गरेका उपलब्धिहरूको पनि चर्चा गरे । ति अनुभव र सफलताका आधारमा मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टी नै उपयुक्त विकल्प भएको उनको जिकिर थियो।


प्रतिक्रिया दिनुहोस्