संगठन सुदृढीकरण र प्रचार तीव्र बनाउँदै नेपाली काँग्रेस, घोषणापत्र चाँडै सार्वजनिक गर्ने


काठमाडाैँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै निर्वाचन अभियानलाई तीव्र बनाएको छ।

पार्टीले हालै सम्पन्न विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित देशव्यापी रूपमा संगठन सुदृढीकरण, उम्मेदवार परिचालन र प्रचार–प्रसारलाई व्यवस्थित ढंगले अघि बढाएको जनाएको छ।

काँग्रेसका अनुसार देशभरका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार कायम रहेका छन्।

विद्रोह गरेका केही नेताहरूले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेको र बाँकी थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन निरन्तर पहल भइरहेको पार्टीको दाबी छ।

विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिले सीमित समयमै उम्मेदवार चयन, प्रचार तथा परिचालनका कार्यलाई प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ।

प्रदेशदेखि जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका, गाउँपालिका र वडा तहसम्म प्रचार–प्रसार तथा परिचालन समिति गठनको काम अन्तिम चरणमा पुगेको र दुई दिनभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।

निर्वाचन प्रचारका क्रममा निर्वाचन आयोगको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ। मर्यादित प्रतिस्पर्धा र गलत संस्कृतिको विकास रोक्ने उद्देश्यले पार्टीले आन्तरिक आचारसंहिता समेत निर्माण गरी मातहतका निकायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

कांग्रेसले प्रचारका क्रममा पार्टीका नीति, योजना र कार्यक्रमलाई प्राथमिकतामा राख्दै जनतामा विश्वास र भरोसा कायम गर्ने रणनीति अपनाएको छ। प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाउने नीति लिइएको जनाइएको छ। साथै व्यक्तिगत जीवनमा प्रवेश नगर्ने र मानव स्वतन्त्रताको सम्मान गर्ने विषयलाई विशेष ध्यान दिइने पार्टीको भनाइ छ।

पार्टीमा पछिल्लो समय पुराना नेता–कार्यकर्ता पुनः जोडिने क्रम बढेको र नयाँ प्रवेशको लहर चलेको कांग्रेसले जनाएको छ। अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको उल्लेख गर्दै डोल्पाका अन्य पार्टीका उम्मेदवार दिलबहादुर विष्ट र जुनु भण्डारीले उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसमा प्रवेश गरेको उदाहरण दिइएको छ।

यसैबिच राष्ट्रिय सभातर्फ कोशी प्रदेशबाट सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् भने माघ ११ गते सम्पन्न निर्वाचनबाट धर्मेन्द्र पासवान, रञ्जित कर्ण, गीता देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती निर्वाचित भएको पार्टीले जनाएको छ।

पार्टी सभापति गगनकुमार थापा सहित शीर्ष नेताहरू निर्वाचन क्षेत्रहरूमा मतदातासँग नियमित सम्पर्कमा रहेको कांग्रेसको भनाइ छ। सभापति थापा हाल सर्लाही क्षेत्र नं. ४ मा चुनावी कार्यक्रममा व्यस्त रहेको जनाइएको छ।

फाल्गुण ७ गते जनकपुरधाममा विशेष सभा आयोजना गरिने र केन्द्रीय स्तरका आमसभाहरू क्रमशः अन्य क्षेत्रमा आयोजना गरिने तयारी रहेको छ।

केही समयपछि पार्टीको घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। घोषणापत्रमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रम समेटिने बताइएको छ।

समसामयिक राजनीतिक, वैचारिक र नीतिगत विषयमा प्रत्येक दुई दिनमा ‘डबली संवाद’ कार्यक्रम सञ्चालन गरिने र हरेक दुई दिन दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा नियमित पत्रकार संवाद आयोजना गरिने जानकारी पनि दिइएको छ। उक्त पत्रकार संवाद कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनले गर्नेछ।

सुधार, एकता र विकासको प्रतिबद्धतासहित नेपाली कांग्रेस जनतामाझ बलियो उपस्थितिका साथ अघि बढिरहेको भन्दै पार्टीले सबै नेता–कार्यकर्तालाई एकतावद्ध भएर चुनावमा जुट्न र कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आह्वान गरेको छ।