काठमाडाैँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भू–भागमा बदली र वर्षा–हिमपातको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टाको पूर्वानुमानमा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण रूपमा बदली रहनेछ भने बाँकी पहाडी र तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम खालको हिमपात तथा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य भू–भागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। कोशी प्रदेशका पहाडी भू–भाग र मधेश प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने सम्भावना कायमै रहने मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा चिसो बढ्न सक्ने र यातायात तथा जनजीवन प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस्