काठमाडाैँ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएका बेला स्याङ्जा जिल्लामा अवैध हतियारसहित दुई जना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष सर्च अपरेसन टोलीले मंगलबार विरूवा गाउँपालिका–२ झागडी क्षेत्रमा गरिएको खोजतलासका क्रममा लुकाइछिपाइ राखिएका भरुवा बन्दुक तथा विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विरूवा गाउँपालिका–२ झागडी बस्ने ६६ वर्षीय रोम बहादुर रानाले सामुदायिक जंगलको ओडारमा लुकाएर राखेको अवस्थामा दुई थान एकनाले भरुवा बन्दुकसहित ठूलो मात्रामा विस्फोटक तथा बन्दुक निर्माणमा प्रयोग हुने सामग्री बरामद गरिएको छ।
बरामद सामग्रीमा बारूद, छर्रा, डेटोनेटर, सेफ्टी फ्युज, गन्धक, प्लास्टिक एक्सप्लोसिभ किरकी, विभिन्न प्रकारका फलामे उपकरण, गोली तथा बाघको दाह्राजस्तो देखिने नुकिलो वस्तु समेत रहेका छन्।
त्यसैगरी, सोही स्थानका ६९ वर्षीय बिर बहादुर थापालाई घर नजिकैको झाडीमा लुकाइराखेको एक थान एकनाले भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद हतियार तथा सामग्री नियन्त्रणमा लिई दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्न यस्ता अवैध गतिविधिमाथि कडा निगरानी र कारबाही जारी रहने जिल्ला प्रहरीले स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्