रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा भर्ना, स्वास्थ्य अवस्था सामान्य


काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भर्ना भएका छन्।

अस्पतालका अनुसार गत माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो।

औषधि सेवन गर्दा पनि चोट निको नभई सङ्क्रमण भई ‘सेलुलाइटिस’ देखिएपछि उनलाई माघ १३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको हो।

अस्पतालका प्रवक्ता डा. गोपाल सेडाई अनुसार लामिछानेको नशाबाट एन्टिबायोटिक्समार्फत उपचार भइरहेको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ।

यसैबिच सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग सम्बन्धित नरहेको स्पष्ट पारिएको छ।