विप्लव नेतृत्वलाई आत्मसमिक्षासहित एकतामा आउन प्रचण्डको आग्रह


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)लाई एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक दाहालले कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउने आजको अपरिहार्य आवश्यकता एकता भएको बताएका हुन्।उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारको राजनीतिमा फर्किन आह्वान गरे।

समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै संयोजक दाहालले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भए पनि त्यो सफल हुन नसकेको बताए।

जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको टिप्पणी गर्दै उनले त्यसपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई महसुस भएको बताए ।

संयोजक दाहालले आफूहरूले पनि आत्मसमिक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै विप्लव पक्षका लागि अझै अवसर बाँकी रहेको धारणा राखे। वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने बताउँदै आत्मसमिक्षा गरेर एकता प्रक्रियामा आए पुनः स्वागत गर्न आफूहरू तयार रहेको उनकाे भनाइ छ।

उनले समाजवादी मोर्चाको समयदेखि नै विप्लव नेतृत्वसँग एकताका लागि पटक–पटक गम्भीर संवाद, वार्ता र छलफल भएको स्मरण गरे । पछिल्लो पटक आफ्नो निवासमै लामो छलफलपछि एकतामा जाने सहमति नजिक पुगेको आफूले बुझेको भए पनि जेन–जी आन्दोलन वरिपरि आएपछि वैचारिक अन्योल बढ्दै गएको दाहालले बताए ।

संयोजक दाहालले कम्युनिष्ट शक्तिहरू एक नभई अघि नबढे देश दुर्घटनातर्फ जान सक्ने चेतावनी पनि दिए । निर्वाचन नजिकिँदै गएको सन्दर्भमा विचार मिल्ने सम्पूर्ण शक्तिहरूलाई एकता प्रक्रियामा सहभागी हुन उनले आग्रह गरे ।