आर्थिक विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्छ : अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा आर्थिक विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

उनले देशमा हाल संसद् निर्वाचनको तयारी भइरहेकाले राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गरे। देशको आर्थिक विकास सबै दलको साझा एजेण्डा बन्नुपर्छ भन्दै उनले सबै राजनीतिक दललाई यस विषयमा गम्भीर हुन आग्रह गरे।

अध्यक्ष ढकालले राजनीतिक दलहरू यतिखेर आफ्ना चुनावी घोषणापत्र तयार गरिरहेकाले ती घोषणापत्रमा निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका आर्थिक विकाससम्बन्धी एजेण्डाहरूलाई समेट्नुपर्ने आवश्यकता औंल्याए ।

औद्योगिक विकासमार्फत आर्थिक वृद्धिलाई गति दिन र देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रले निरन्तर प्रयास गर्दै आएको उनको भनाइ थियो।

उनले जुनसुकै सरकार गठन भए पनि अर्थतन्त्रलाई साझा एजेण्डा बनाइनुपर्ने अडान निजी क्षेत्रले विगतदेखि नै लिँदै आएको स्मरण गरे। यसका लागि महासंघले सबै राजनीतिक दललाई एकै मञ्चमा राखेर बहस सञ्चालन गर्दै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको उल्लेख गरे ।हाल सो आयोगका केही सुझाव कार्यान्वयनमा आइसकेको भन्दै उहाँले सन्तोष व्यक्त गरे ।

अध्यक्ष ढकालले आफ्नो नेतृत्वमा महासंघले आर्थिक लगानीको वातावरणमा अवरोध बनेका कतिपय परम्परागत कानुन संशोधनदेखि महासंघको विधानलाई समयसापेक्ष बनाउनेसम्मका महत्वपूर्ण काम सम्पन्न गरेको पनि बताए। यस्ता सुधारले निजी क्षेत्रको मनोबल बढाउनुका साथै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उनको धारणा थियो।