काठमाडाैँ । नेपाली निर्माण सामग्री उद्योगमा स्वदेशी टायल उत्पादकहरूले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । प्राइम टायल्स र लेमिनार टायल्सले नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस प्रमाणपत्र प्राप्त गर्दै राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेका छन् ।
नेपालमै पहिलो र एकमात्र एनएस प्रमाणित टायल कम्पनी बन्न सफल प्राइम टायल्सले ‘एनएस ६१७’ मापदण्ड पूरा गरेको भन्दै गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो । भित्ता (वाल) र भुइँ (फ्लोर) मा प्रयोग गरिने टायल उत्पादनमा नेपाल गुणस्तर चिह्न प्राप्त गर्ने प्राइम टायल्स देशकै पहिलो उद्योग बनेको छ ।
विभागले प्रदान गरेको यो प्रमाणपत्रले प्राइम टायल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार कडा परीक्षण र प्रमाणीकरण भएको पुष्टि गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसले उत्पादनको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आधुनिक डिजाइनप्रतिको प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ ।
हाल प्राइम टायल्सका विभिन्न डिजाइन र आकारका टायल घर, कार्यालय तथा ठूला व्यावसायिक भवनका लागि बजारमा उपलब्ध छन् । प्रमाणपत्र प्राप्तिसँगै नेपाली उपभोक्ताले विदेशी टायलमा निर्भर रहनुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै जाने र स्वदेशी उत्पादनमै भरोसा गर्न सक्ने कम्पनीको विश्वास छ ।
करिब ३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा रौतहटमा सञ्चालित यस उद्योगको वार्षिक उत्पादन क्षमता ४० लाख वर्गमिटर छ । सीएमएस र फर्च्युन भेन्चर्सजस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित प्राइम टायल्सले छोटो समयमै नेपाली बजारमा बलियो उपस्थिति बनाइसकेको छ । हाल देशभर रहेका १२० भन्दा बढी आधिकारिक डिलर सञ्जालमार्फत कम्पनीले आफ्ना उत्पादन ग्राहकसम्म पुर्याइरहेको छ ।
यसैगरी, लेमिनार टायल्सले पनि एनएस प्रमाणपत्र प्राप्त गर्दै नेपाली टायल उद्योगमा अर्को उपलब्धि थपेको छ । लुम्बिनी सेरामिक्स लिमिटेडद्वारा उत्पादन हुँदै आएको लेमिनार टायल्सले ‘ग्रुप बी आइए पूर्ण भिट्रिफाइड टायल्स’ श्रेणीअन्तर्गत एनएस प्रमाणीकरण प्राप्त गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका–८ मा साढे १२ बिघा क्षेत्रफलमा फैलिएको अत्याधुनिक उद्योगमार्फत लुम्बिनी सेरामिक्सले टायल उत्पादन गर्दै आएको छ । उद्योग स्थापना गर्न मात्रै कम्पनीले करिब ४ अर्ब रुपैयाँ लगानी गरेको छ । हाल लेमिनार टायल्स करिब ५०० भन्दा बढी डिजाइनमा उत्पादन हुँदै आएको छ ।
करिब ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ क्षमता (०.०८ प्रतिशत मात्र पानी सोस्ने) रहेको लेमिनार टायल्स नेपालकै पहिलो र एकमात्र १०० प्रतिशत भिट्रिफाइड टायल ब्रान्ड भएको कम्पनीको दाबी छ । एनएस प्रमाणपत्र प्राप्तिसँगै लेमिनार टायल्सका उत्पादनले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेको पुष्टि भएको छ ।
प्राइम टायल्स र लेमिनार टायल्सले एनएस प्रमाणपत्र प्राप्त गर्नु नेपाली निर्माण सामग्री उद्योगका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले स्वदेशी उद्योगप्रतिको विश्वास बढाउने, आयात प्रतिस्थापनमा टेवा पुर्याउने र नेपाली उपभोक्तालाई गुणस्तरीय स्वदेशी टायल उपलब्ध गराउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्