काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङकाे घोराही उपमहानगरपालिका स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै आरोप–पत्र दायर गरेको छ।
आयोगले सार्वजनिक खरिद ऐन र नियमावलीको प्रतिकूल हुने गरी गुणस्तरहिन तथा सम्झौताका शर्त र मापदण्ड विपरीतको सिटी स्क्यान मेसिन खरिद गरी भुक्तानी दिइएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा प्रतिस्पर्धा, पारदर्शिता र मापदण्डको पालना नगरी आपूर्तिकर्ता कम्पनीसँग मिलेमतो गरी गैरकानुनी लाभ र राज्यलाई हानि पुर्याइएको पाइएको छ। सोही आधारमा प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जना व्यक्ति तथा हिमालयन मेडिटेक प्रा.लि.लाई प्रतिवादी बनाइएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (ग) र (ञ) अनुसारको कसूर ठहर गर्दै प्रतिवादीहरूबाट विगो रकम ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसा कायम गरेको छ। सो रकम असुलउपरसहित विगो बराबर जरिवाना र कैद सजायको मागदाबी लिइएको आयोगले जनाएको छ।
त्यसैगरी, ऐनको दफा १९ को उपदफा (२) बमोजिम थप कैद र जरिवाना सजायको माग गरिएको छ भने तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीलाई दफा २४ अनुसार थप सजायको मागदाबी समेत लिइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक निकायमा हुने खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारप्रति कडा निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्