काठमाडौँ । नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुवेदार दयाराम खड्का लगायत युद्धका सबै वीर सपूतलाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सरोकारवालाहरूले नालापानी युद्ध नेपालको इतिहाससँग गाँसिएको गौरवशाली अध्याय भएको उल्लेख गर्दै यससँग सम्बन्धित व्यक्तित्व र सामग्रीको संरक्षण तथा सम्मान आवश्यक रहेको धारणा राखेका हुन्।
बैठकमा इतिहासविद् डा. श्रीरामप्रसाद उपाध्यायले दयाराम खड्काको राष्ट्रिय योगदानलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले नालापानीको लडाइँले नै नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको बताउँदै युद्धमा प्रयोग भएका ऐतिहासिक हातहतियारको संरक्षणमा पनि राज्यले चासो दिनुपर्नेमा जोड दिए । दयाराम खड्काको योगदान असाधारण रहेको उल्लेख गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग समेत राखे ।
उपाध्यायले भने,“हामीलाई नेपाली भनेर चिनाउने ऐतिहासिक आधार नै नालापानीको लडाइँ हो। दयाराम खड्काको योगदानका कारण नै आज हामी गोर्खाली भनेर चिनिन्छौँ। सबैले लडाइँ छोडेर भाग्दा पनि उहाँ अन्तिम समयसम्म डटेर लड्नुभयो, जसको प्रशंसा अंग्रेजहरूले समेत गरेका छन्। उहाँको परिवार नै एकीकरण अभियानमा संलग्न थियो। त्यसैले उहाँको योगदान ऐतिहासिक महत्वको छ र पाठ्यक्रममा समावेश गर्दै राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भन्ने मेरो मान्यता हो।”
दयाराम खड्का स्मृति प्रतिष्ठान, प्यूठानका अध्यक्ष कमलबहादुर खड्काले दयाराम खड्काको स्मृतिमा निर्माण गरिएको प्रतिष्ठानको भौतिक संरचना जीर्ण अवस्थामा रहेको बताउँदै यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने माग गरे ।
उनले नेपालको एकीकरण र संरक्षणमा दयाराम खड्काले दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय विभूति घोषणा गर्नुका साथै प्यूठानमै शालिक निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, “आज उहाँको स्मृतिमा बनाइएको प्रतिष्ठानको भवन नै जीर्ण अवस्थामा छ। देशका लागि उहाँले दिनुभएको योगदानको कदर गर्दै युद्धमा प्रयोग गरिएका हतियारको संरक्षण गरिनुपर्छ। प्यूठानमा उहाँको शालिक निर्माण गर्नु पनि हाम्रो प्रमुख माग हो।”
प्रतिष्ठानका सदस्य वेदबहादुर खड्काले पनि दयाराम खड्काको युद्ध कौशल र बलिदानको सम्मान गर्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरे । उनले खड्काले प्रयोग गरेका ऐतिहासिक हातहतियार संरक्षणका लागि उपयुक्त संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, “राष्ट्र निर्माणका लागि उहाँले दिनुभएको बलिदान अमूल्य छ। उहाँको युद्ध कौशल र योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ। हामी उहाँले प्रयोग गर्नुभएका हातहतियारको पूजा गर्दै आएका छौँ तर अहिले स्थानको अभाव छ। राज्यले व्यवस्थित प्रतिष्ठान भवन निर्माण गरिदिनुपर्छ।”
बैठकमा सहभागी अधिकांश सांसदहरूले नालापानी युद्धसम्बन्धी ऐतिहासिक दस्तावेज र प्रमाणमाथि थप अध्ययन तथा अनुसन्धान गर्दै विज्ञहरूको सुझावका आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने प्रक्रिया अघि बढाउन सकिने धारणा व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्