आचारसंहिता उल्लङ्घनमा २१ जनासँग स्पष्टीकरण, ३०२ हानिकारक सूचनामाथि कारबाही प्रक्रिया अघि बढ्यो


काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ कार्यान्वयन भइरहेको जनाएको छ।

आयोगका अनुसार आचारसंहिता माघ ४ गते राति १२ बजेदेखि लागू भएसँगै उल्लङ्घनसम्बन्धी उजुरी संकलन, अनुगमन तथा कारबाहीको प्रक्रिया निरन्तर अघि बढाइएको छ।

आयोगले आचारसंहिता उल्लङ्घनका विषयमा राजनीतिक दल, उम्मेदवार तथा संस्थासमेत गरी २१ जनासँग स्पष्टीकरण सोधेकोमा हालसम्म पाँच वटा जवाफ प्राप्त भइसकेको छ भने बाँकीको हकमा ताकेता भइरहेको छ।

यस अवधिमा सरकारी निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारकर्मीसहित सबै क्षेत्रबाट आचारसंहिता पालनामा देखिएको सक्रियताप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ।

निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ। सोही अनुरूप नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरिसकेको आयोगले जनाएको छ।

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन निर्वाचन आयोग ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनअनुसार ७७ वटै जिल्लामा अनुगमन अधिकृत तोकिएका छन्। आर्थिक बाहेकका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी र आर्थिक विषयमा प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई फरक–फरक जिम्मेवारी तोकिएको छ।

यसैगरी, निर्वाचन आचारसंहिता उल्लङ्घन हुनेगरी मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाउने गतिविधिको निगरानीका लागि आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको छ।

सो इकाईले पहिचान गरेका ३०२ वटा हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, विद्युतीय कारोबार ऐन र प्रेस काउन्सिल ऐनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जानकारी दिएको छ।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठ्ने कुनै गतिविधि भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले अनुरोध गरेको छ।