पूर्वप्रधानमन्त्री ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको छ : सचिव बस्नेत


काठमाडाैँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन्। राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सचिव बस्नेतले भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा २३ जनाको मृत्यु भएको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्रीको हैसियतमा अध्यक्ष ओलीले मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा शहीद घोषणा गर्ने निर्णय गरेको स्पष्ट पारे । भदौ २४ गते संविधान र सुरक्षा निकायहरू नै ‘हाइज्याक’ गरी देशलाई ध्वस्त पार्ने षड्यन्त्र गरिएको उनको आरोप थियो।

उहाँले त्यस दिन युवाहरूको सोच र चेतनालाई समेत भड्काएर सिंहदरबार, सर्वोच्च अदालतलगायत संवैधानिक निकायमा आक्रमण गर्ने योजना बनाइएको दाबी गरे । सचिव बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम लिँदै देशभरबाट १४ हजार कैदी भागेको टिप्पणी गरे ।

भागेका कैदीमध्ये दुई जनाको मृत्यु भएको र दुई जना फरार कैदीले आफ्नै आमा र श्रीमतीको हत्या गरेको उल्लेख गर्दै उनले यसको राजनीतिक तथा नैतिक जिम्मेवारी सभापति लामिछानेले लिनुपर्ने जिकिर गरे । आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबाट भएको क्षतिको जिम्मेवारी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले समेत लिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै सचिव बस्नेतले पूर्वप्रधानमन्त्रीमाथि व्यक्ति हत्या आरोप लगाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाए ।उनले सेना, प्रहरी र संविधानिक संरचनामाथि नै प्रहार गर्ने प्रयास भएको दाबी गर्दै यसमा संलग्न सबैको हिसाबकिताब एक–एक गरी गरिने चेतावनी दिए ।

उनले आन्दोलनको नाममा भएको ध्वंसको सम्पूर्ण विवरण सार्वजनिक गरिने बताउँदै मुलुकको विकास र समृद्धिका लागि नेकपा (एमाले)को विकल्प नरहेको टिप्पणी समेत गरे ।