रोजगारी र उद्यमशीलतामा युवालाई नजोडेसम्म वैदेशिक पलायन रोकिँदैन : सचिन तिमलसेना


काठमाडाैँ । नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सचिन तिमलसेनाले रोजगारीको अवसर सिर्जना र युवालाई उद्यमशीलतामा नजोडेसम्म वैदेशिक पलायन रोक्न नसकिने बताएका छन्।

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालमै रोजगारीको वातावरण नबने युवाहरू विदेशिन बाध्य हुने अवस्था अन्त्य नहुने स्पष्ट पारे। तिमलसेनाले रोजगारी नपाएर विदेश जानुपर्ने बाध्यता नआओस् भन्ने लक्ष्यका साथ आफूले मेहनतपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले युवा रोजगारीलाई आफ्नो प्राथमिकतामा राख्ने उल्लेख गर्दै युवालाई उद्यमशीलतामा जोड्न विशेष पहल गरिने बताए। यसअघि सोही क्षेत्रबाट निर्वाचित गगनकुमार थापा विशेष कारणले ‘मिसन’मा जानुभएको टिप्पणी गर्दै अबको पाँच वर्ष आफूले ‘भरत’ बनेर अयोध्यारूपी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ लाई सम्हाल्ने जिकिर गरे ।

तिमलसेनाले प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएर संसद् प्रवेश गरेपछि गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोका रूपमा आफू उभिने दाबी गरे ।

कार्यक्रममा उनले काठमाडौं क्षेत्र नम्बर ४ ले देशलाई सक्षम र अब्बल सांसद दिएको उल्लेख गर्दै खानेपानी समस्या लगायतका स्थानीय समस्याको समाधान र विकास निर्माणमा विशेष ध्यान दिने बताए । साथै, युवालाई व्यवसायतर्फ आकर्षित गर्न पहिलो पटक व्यापार सुरु गर्ने नवयुवालाई दुई वर्षसम्म कर माफ गर्ने व्यवस्था गर्ने खालको कानुन ल्याउन पहल गर्ने दाबी पनि गरे ।