दाङ–२ मा शङ्कर पोखरेलको चुनावी अभियान: घर–घर संवाद र विकास ‘रोडम्याप’ केन्द्रमा


काठमाडाैँ । मतदातासँग प्रत्यक्ष संवाद, घर–घर भेटघाट र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल सक्रिय रूपमा मैदानमा छन् ।

घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आयोजित भेटघाट कार्यक्रममा पोखरेलले आफ्नो व्यक्तिगत राजनीतिक यात्राभन्दा पनि मुख्यमन्त्री रहँदा तयार पारेको दाङको दीर्घकालीन विकास ‘रोडम्याप’ र त्यसको कार्यान्वयनलाई केन्द्रमा राख्दै मतदातासँग संवाद गरेका छन् ।

उनले आफू मुख्यमन्त्री हुँदा दाङको समग्र विकासका लागि स्पष्ट र दीर्घकालीन खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा जनसमर्थन आवश्यक रहेको बताए ।

“विकास योजना कागजमा मात्रै सीमित गरेर हुँदैन,” पोखरेलले भने, “त्यसलाई कार्यान्वयन गर्न सक्षम, जिम्मेवार र प्रतिबद्ध नेतृत्व चाहिन्छ । योग्य नेतृत्व चयन गर्ने जिम्मेवारी अन्ततः मतदाताकै हातमा हुन्छ ।”

कार्यक्रमका क्रममा उनले आफू ‘कुराभन्दा कामलाई प्राथमिकता दिने’ नेतृत्वका रूपमा चिनिएको उल्लेख गर्दै विगतमा सुरु भएका अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको धारणा राखे ।

सडक, पूर्वाधार, खानेपानी र सिँचाइलाई स्थानीय विकासका प्राथमिक क्षेत्रका रूपमा प्रस्तुत गर्दै उनले आफ्नो दृष्टिकोण स्पष्ट पारे ।

घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासी रमण चौधरी र बालाराम वलीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको उल्लेख गर्दै अब सामुदायिक भवन, खानेपानी तथा सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरे । उनीहरूले विगतमा सुरु भएका केही विकास योजनाहरू अलपत्र परेको गुनासो पनि पोखरेलसमक्ष राखे ।

स्थानीयको जिज्ञासा र गुनासोको जवाफ दिँदै पोखरेलले आफू मुख्यमन्त्री रहँदा रणनीतिक सडकका रूपमा अघि बढाइएको दामोदर मार्ग सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता जनाए ।

“रणनीतिक महत्व बुझेर सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको तथ्य यहाँका नागरिक जानकार नै हुनुहुन्छ,” उनले भने, “अब त्यस सडक निर्माणको जिम्मा म स्वयं लिन्छु ।”

मतदातासँगको संवादमा पोखरेलले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने आवश्यकता औँल्याए । “दाङको समृद्धि कुनै एक दलको मात्रै एजेण्डा होइन,” उनले भने, “यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता अनिवार्य हुन्छ ।”

प्रत्यक्ष भेटघाट, स्थानीय मुद्दामा खुला छलफल र विगतका कामको आधारमा मत माग्ने पोखरेलको अभियान शैलीले दाङको चुनावी माहोलमा विकाससम्बन्धी बहसलाई केन्द्रमा ल्याएको देखिन्छ ।