काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरूसँगको भेटघाटपछि प्रतिक्रिया दिँदै उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखिएको स्मरण गराउँदै हाल विभिन्न स्थानमा बिमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
महामन्त्री पौडेलका अनुसार सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्ने अवस्था आएमा वैकल्पिक स्रोतबाट आवश्यक रकम जुटाउने स्पष्ट खाका आफूहरूले पहिल्यै प्रस्तुत गरिसकेका थिए।
उक्त प्रस्तावलाई तत्कालीन प्रधानमन्त्रीसमक्ष पटक–पटक उठाउँदा पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। पछिल्ला सरकारहरूले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
हाल स्वास्थ्य बिमा कार्यक्रम आर्थिक संकटमा परेको उल्लेख गर्दै उनले सेवा प्रदायक अस्पतालहरूले भुक्तानी नपाएको भन्दै बिमा सेवा बन्द गर्ने घोषणा गरिरहेको अवस्था चिन्ताजनक भएको बताए। शिक्षण अस्पतालसहित ठूला अस्पतालहरूमा समेत बिमा सेवा प्रभावित भएको समाचारहरू सार्वजनिक भइरहेका छन्।
पौडेलले आफ्नो मन्त्रीकालमा बिमाको सुविधा सीमा एक लाख रुपैयाँबाट पाँच लाख रुपैयाँसम्म पुर्याउने प्रस्ताव अघि सारिएको र योगदानमा आधारित प्रणाली लागू गर्ने प्रयास गरिएको उल्लेख गरे। यद्यपि हालको अवस्थाले सम्पूर्ण कार्यक्रम नै जोखिममा परेको उहाँको ठम्याइ छ। सरकारले स्वास्थ्य क्षेत्रबाट पन्छिन नपाउने स्पष्ट धारणा उनले व्यक्त गरे।
महामन्त्री पौडेलले भने, “मैले सबैभन्दा बढी प्राथमिकता स्वास्थ्य बीमालाई दिएको हुँ। म हुँदा जसरी पनि बीमा चलेको थियो। अहिले कतिपय ठाउँमा बीमा बन्द भएको सुन्दैछु। सरकार स्वास्थ्य क्षेत्रबाट त्यसरी भाग्न मिल्दैन। सरकारले दिन सक्दैन भने स्रोत कहाँबाट जुट्छ भन्ने स्पष्ट खाका हामीले दिइसकेका छौँ। त्यसबेला धेरै पटक आग्रह गर्दा पनि कार्यान्वयन हुन सकेन। अबका सरकारले त्यो विषय लागू नगरेसम्म नागरिकले राज्यबाट स्वास्थ्य सेवाको अनुभूति गर्न सक्दैनन्।”
यसैबीच उनले ढल व्यवस्थापनको क्षमता अभिवृद्धिका लागि पनि आफू लागिपर्ने प्रतिबद्धता जनाए। आफूले काम नगरेको भनेर भन्न मिल्ने अवस्था नरहेको दाबी गर्दै उनले जनताको आधारभूत सेवासँग जोडिएका विषयमा निरन्तर आवाज उठाउने बताए


प्रतिक्रिया दिनुहोस्