रास्वपा लक्षित थापाको टिप्पणीः चुनाव जित्न मात्रै दायाँबायाँ फर्किएकाहरू एक भएका छन्


काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रयोजनका लागि मात्रै केही पात्रहरू एक ठाउँमा उभिएको टिप्पणी गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै नयाँ भनिएका दलहरूसँग स्पष्ट दृष्टिकोण र प्रतिबद्धता नभएको आरोप लगाए ।

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा सभापति थापाले चुनाव जित्नका लागि विगतमा दायाँ–बायाँ फर्किएका पात्रहरू एकै ठाउँमा जम्मा हुनु नयाँपन नभएको बताए । उनका अनुसार कांग्रेस, एमाले वा माओवादी छाडेर आएका व्यक्तिहरू एउटै उद्देश्यका लागि एक ठाउँमा उभिनु नै नयाँको परिभाषा हुन सक्दैन।

‘नयाँको परिभाषा के हो ? चुनाव जित्नु मात्रै हो ?’ भन्दै सभापति थापाले प्रश्न गरे । उनले नयाँ अनुहार देखिँदैमा नयाँपन नहुने जिकिर गर्दै नयाँ र पुरानोबीचको वास्तविक भिन्नता विचार, दृष्टिकोण र प्रतिबद्धतामा हुने उल्लेख गरे समयक्रममा हरेक कुरा नयाँबाट पुरानो हुने भएकाले केवल नयाँ भन्ने नाराले मात्रै देशको भविष्य तय नहुने उनकाे भनाइ थियो।

सभापति थापाले पछिल्लो महाधिवेशनपछि नेपाली कांग्रेस बद्लिएको दाबी गर्नुभयो। नयाँ ऊर्जा, नयाँ नेतृत्व र नयाँ प्रतिबद्धतासहित कांग्रेस अघि बढेकाले अहिलेको अवस्थामा कांग्रेस नै सबैभन्दा नयाँ पार्टी भएको उनको दाबी छ। ‘माघ ६ गते महाधिवेशन गरेर नयाँ नेतृत्वसहित आएको कांग्रेसभन्दा आज अरू कुन पार्टी नयाँ छ ?’ भन्दै उनले प्रश्न गरे ।

देश बनाउन सुझबुझ, धैर्यता र जिम्मेवारीबोध आवश्यक पर्ने उल्लेख गर्दै सभापति थापाले कांग्रेससँग मात्रै देश सम्हाल्ने क्षमता रहेको दाबी गरे । आगो लगाउन सजिलो भए पनि देश बनाउन चेतनशील, धैर्यवान र जिम्मेवार शक्ति आवश्यक पर्ने उनको भनाइ थियो।

“आगो एकै दिनमा लाग्छ र सबै खरानी हुन्छ, तर बनाउन होसमा भएको शक्ति चाहिन्छ,” उनले भने, “कांग्रेससँग त्यो ऊर्जा पनि छ, आँखामा सपना पनि छ र देश बनाउने प्रतिबद्धता पनि छ।”

सभापति थापाले कांग्रेससँग देश बनाउने ऊर्जा, सपना र प्रतिबद्धता रहेको भन्दै यही सन्देश घरघरमा पुर्‍याउन कार्यकर्तालाई आग्रह गरे ।