काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।
शनिबार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको मजबुत आधार भएको उल्लेख गरेका हुन्। लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र र निष्पक्ष निर्वाचन अपरिहार्य रहेको भन्दै त्यसका लागि सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनको भनाइ थियो।
उपराष्ट्रपति यादवले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए। पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भका रूपमा स्थापित गर्दै समावेशिता, समान अवसर र सबै वर्गको आवाज प्रतिनिधित्व गर्ने दायित्व दृढतापूर्वक पूरा गर्न उहाँले सञ्चारकर्मीलाई आग्रह गरे ।
सत्य, निष्पक्षता र जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्र निर्माणमा योगदान दिनुपर्नेमा जोड दिँदै उनले डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको आवश्यकता भएको पनि उल्लेख गरे । राष्ट्रको आवाजलाई सशक्त बनाउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्