वालिङमा स्कुटर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते, एक जना नियन्त्रणमा


काठमाडाैँ । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसिपधेरास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दुर्घटनापछि दुई पक्षबिच झै–झगडा समेत भएको छ ।

प्रहरीका अनुसार गत माघ १७ गते राति करिब १२ः१० बजे वालिङबाट बयरघारीतर्फ जाँदै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ५३४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनापछि दुवै सवारीका चालक तथा यात्रुबीच विवाद र झै–झगडा भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षक रमेश तिमिल्सेनाको कमाण्डमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो ।

झै–झगडामा संलग्न भएको आरोपमा भीरकोट नगरपालिका–२ निवासी २४ वर्षीय चन्दन के.सी.लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा घाइते भएकाहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

घाइतेमध्ये वालिङ नगरपालिका–८ निवासी ३० वर्षीय अजिम खानको निधारमा चोट लागेको भए पनि सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

भीरकोट नगरपालिका–१ निवासी ३२ वर्षीय अनुप श्रेष्ठको निधार र टाउकोमा चोट लागेपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । उनको गण्डकी मेडिकल कलेज (जीएमसी) पोखरामा उपचार भइरहेको छ ।

त्यस्तै, सोही स्थानका ४० वर्षीय राम सेन ठकुरीको मुखमा चोट लागेको र उनलाई पनि पोखरा रिफर गरी गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण र घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।