काठमाडाैँ । पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको एक महिने स्वस्थनी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन भएको हो ।
मुख्य रूपमा महिलाहरूले परिवारको सुख, सुस्वास्थ्य र मनोकामना पूरा हुनका लागि व्रत बस्ने, पूजा गर्ने र स्वस्थानी देवीको कथा श्रवण गर्ने गर्छन् । विशेष गरी नेवार समुदायमा यो व्रतको समापनलाई ‘मिःगा पूजा’ को रूपमा मनाइन्छ ।
शालीनदी (साँखुस्थित सालिनदी) मा बसेका व्रतालुहरूले व्रतको अन्तिम दिन ‘मिःगा पूजा’ गरेपछि मात्र व्रत पूर्ण रूपमा समाप्त गर्ने परम्परा छ । ‘मिःगा पूजा’ मा अण्डाको बली दिएपछि अण्डा पकाएर खाने चलन छ ।
स्थानीय जीवन श्रेष्ठले शालीनदीमा बसेकाहरूले मिःगा पूजा गरेपछि मात्र व्रत समाप्त हुने जानकारी दिनुभयो । यो नेवार समुदायको विशेष परम्परा हो ।
श्री स्वस्थानी व्रत मुख्य रूपमा भगवान शिव र पार्वती (स्वस्थानी परमेश्वरी) को आराधना गर्ने पर्व हो । व्रतकथामा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति प्राप्तिका लागि यो व्रत बसेको उल्लेख छ । शालीनदीमा लाग्ने मेला र मिःगा पूजाले नेपाली संस्कृतिको विविधता र धार्मिक सहिष्णुतालाई झल्काउँछ ।


प्रतिक्रिया दिनुहोस्