काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा कृषि क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २५.१६ प्रतिशत योगदान दिएको छ। यस अवधिमा कृषि क्षेत्रको वार्षिक वृद्धिदर ३.२८ प्रतिशत कायम भएको मन्त्रालयले जनाएको छ।
प्रतिवेदनले बजेट कार्यान्वयनतर्फ पनि उल्लेख्य प्रगति देखाएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि मन्त्रालयलाई कूल ५७ अर्ब २९ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएकोमा संघीय सरकारमार्फत ५० अर्ब २६ करोड ५५ लाख रुपैयाँ खर्चको जिम्मेवारी लिइएको थियो।
यस्तै, प्रदेश तहमा १ अर्ब १५ करोड ६६ लाख र स्थानीय तहमा ३ अर्ब २२ करोड ८४ लाख रुपैयाँ सशर्त अनुदानका रूपमा हस्तान्तरण गरिएको थियो। समग्रमा मन्त्रालयको वित्तीय प्रगति ८४.५४ प्रतिशत र भारित प्रगति ८५.१८ प्रतिशत पुगेको छ।
रासायनिक मल आपूर्तितर्फ भने लक्ष्यअनुसार पूर्ण आयात हुन सकेको छैन। मन्त्रालयले ५ लाख ५० हजार मेट्रिक टन मल आपूर्तिका लागि बोलपत्र आह्वान गरे पनि हालसम्म ४ लाख ८८ हजार ७ सय ३७ मेट्रिक टन मल मात्र आयात भएको छ। आयात गरिएको मलमध्ये ४ लाख ४१ हजार ३ सय १५ मेट्रिक टन मल कृषकहरूलाई बिक्री वितरण गरिएको मन्त्रालयले जनाएको छ।
कृषि तथा पशुपन्छी बीमा कार्यक्रमअन्तर्गत सरकारले बिमा प्रिमियममा ८० प्रतिशत अनुदान दिँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा बीमा शुल्क अनुदान बापत १ अर्ब ६० करोड १६ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको छ। पशुपन्छी बिमातर्फ मात्रै १ लाख ६६ हजारभन्दा बढी बिमालेख जारी भएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत देशभर २१ ओटा सुपर जोन र २०६ ओटा जोन सञ्चालनमा रहेका छन्। चक्लाबन्दी खेती कार्यक्रममार्फत ७ हजार ८ सय ४० हेक्टर क्षेत्रमा खेती विस्तार भएको छ भने चैते धान प्रवर्धन कार्यक्रम अन्तर्गत ६ हजार १ सय २६ हेक्टर थप क्षेत्रमा धान खेती विस्तार गरिएको प्रतिवेदनमा उल्लेख छ।
उत्पादनतर्फ धानको उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टर पुगेको छ। यस्तै, मकैको ३.४६, गहुँको ३.०० र आलुको १६.८ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व कायम भएको छ। दूध उत्पादन २७ लाख ५१ हजार मेट्रिक टन र मासु उत्पादन ४ लाख ६४ हजार मेट्रिक टन पुगेको छ।
मन्त्रालयले यस वर्ष देशभरका १४ जना उत्कृष्ट कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरेको छ। सम्मानित कृषकहरूलाई जनही २ लाख रुपैयाँ नगद प्रदान गरिएको थियो।
अन्य पहलअन्तर्गत किसान सूचीकरण कार्यक्रममा हालसम्म २३ लाख ६८ हजारभन्दा बढी कृषकले आवेदन दिएका छन्। पशुपन्छी खोप उत्पादनतर्फ ४ करोड ३४ लाखभन्दा बढी डोज खोप उत्पादन गरिएको छ। साथै कृषिमा लगानी अभिवृद्धि गर्ने उद्देश्यसहित वि.सं. २०८१ देखि २०९१ सम्मको अवधिलाई ‘कृषि लगानी दशक’ घोषणा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्